काठमाडौं । देशका विभिन्न स्थानमा पछिल्लो समय विद्युत सेवा अवरुद्ध भएको विषयमा नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ नभएको स्पष्ट पारेको छ । प्राधिकरणले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै अतिरञ्जित र भ्रामक भनाइहरु सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण भईरहेको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
‘देशका विभिन्न क्षेत्रमा आएको हावाहुरी तथा प्रि–मन्सुनका कारण सिर्जना भएको प्रतिकूल मौसमले छोटो समय विद्युत सेवा अवरुद्ध हुन जाने सन्दर्भमा लोडसेडिङ्ग भएको भनि अतिरञ्जित र भ्रामक भनाइहरु सामाजिक सञ्जालमा व्यक्त हुँदै आएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ’, विज्ञप्तीमा भनिएको छ,‘प्रतिकूल मौसमका कारण अवरुद्ध भएको विद्युत सेवा पुनः सुचारु गर्न देशभरका वितरण केन्द्रबाट दिन रात निरन्तर काम भई अधिकांश स्थानमा यथाशिघ्र विद्युत आपूर्ति सुचारु गरिएको व्यहोरा जानकारी गराउँदछौं । यति हुँदाहुँदै पनि विद्युत सेवा अवरुद्ध हुन गई ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौँ ।’
प्राधिकरणले अवरुद्ध भएको सेवा छिटोभन्दा छिटो पुनः सुचारु गर्न वितरण केन्द्रबाट दिन–रात काम भईरहेको जानकारी दिँदै अधिकांश स्थानमा आपूर्ति पुनः बहाल भइसकेको जनाएको छ । यद्यपि असुविधाका लागि ग्राहकसमक्ष क्षमायाचना पनि गरिएको छ ।
प्राधिकरणले विपद्जन्य अवस्थामा विद्युत संरचनामा क्षति पुग्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । पोल ढल्ने, तार लत्रिने लगायतका घटनाबाट जनधनको क्षति हुन सक्ने भएकाले यस्ता समस्या देखिएमा तत्काल नजिकको प्राधिकरण कार्यालय वा हटलाइन नम्बर ११५० मा जानकारी दिन अनुरोध गरिएको छ ।




















प्रतिक्रिया