Logo

कर्पोरेट फोकस

पाथीभरा केबलकार विवाद: गृह जिल्लामै शौचालयभित्र थुनिए योगेश भट्टराई



ताप्लेजुङ । प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका सचिव योगेश भट्टराई गृहजिल्लामै जनविरोधको चपेटामा परेका छन् । पाथीभरामा प्रस्तावित केवलकार निर्माणविरुद्ध लामो समयदेखि आन्दोलित ‘नो केवलकार’ समूहले शुक्रबार भट्टराईको आगमनको विरोधमा लेलेपमा चर्को नाराबाजीसहित प्रदर्शन गरेका छन् ।

पूर्व पर्यटनमन्त्रीसमेत रहेका भट्टराई कञ्चनजंघा हिरक महोत्सवको उद्घाटन कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेसँगै हेलिकोप्टरमार्फत लेलेप पुगेका थिए । कार्यक्रममा सहभागी भएर फर्कन लाग्दा उनी तीव्र नाराजुलुसको घेरामा परेका थिए ।

शौचालयमै घेरा, प्रहरीको चुकुल लगाएर सुरक्षा

प्रत्यक्षदर्शी अनुसार उद्घाटन समारोहपछि मन्त्री पाण्डे हेलिकोप्टरतिर लागे पनि भट्टराई भने नजिकै रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को भवनतर्फ लागे । जब उनी भवनको माथिल्लो तलामा रहेको शौचालयतिर उक्लिए, त्यहीबेला स्थानीयले ‘नो केवलकार’, ‘योगेश भट्टराई मुर्दावाद’ जस्ता नारासहित विरोध प्रदर्शन सुरु गरे ।

स्थिति उग्र बनेपछि आन्दोलनकारीले शौचालय घेराउ गरे । परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले शौचालयको ढोका चुकुल लगाएर भट्टराईलाई अस्थायी सुरक्षा दिए । केही समयपछि थप प्रहरी परिचालन गरी भीड तितरबितर पारिएको थियो । त्यसपछि मात्र भट्टराईलाई हेलिकोप्टरसम्म सुरक्षासहित लगिएको थियो ।

संस्कृतिमाथि अपमानको आरोप, च्याब्रुङ नाचसमेत बहिष्कार

स्थानीयहरू भट्टराईमाथि लिम्बू समुदायको संस्कृति र पहिचानमाथि प्रहार गरेको आरोप लगाउँदै आएका छन् । उनीहरुले भट्टराईले समुदायको च्याब्रुङ (केलाङ) नाचलाई हेय दृष्टिले हेरेको दाबी गर्दै कार्यक्रममा प्रदर्शन गरे। स्थानीय केदारजङ्ग ताप्मादेनका अनुसार, भट्टराई कार्यक्रममा उपस्थित भएपछि नाच देखाउने टोलीले स्टेजमा उपस्थित भएर पनि विधिपूर्वक प्रस्तुति नदिएको थियो ।

राजनीतिक प्रतिशोध वा जनताकै आवाज 

केबलकारको विरोधमा लामो समयदेखि अग्रसर रहेको ‘नो केवलकार’ समूहले भट्टराईमाथि बारम्बार आक्रोश पोख्दै आएको छ । यसअघि कोशी प्रदेशका सांसद राम रानामाथि भएको घटनालाई संसदमा भट्टराईले उठाएको भन्दै पहिचान पक्षधरहरूले उनीमाथि असन्तुष्टि जनाउँदै आएका छन् ।

महोत्सवकै संयोजक खगेन्द्र फेम्बो लिम्बू पनि केबलकार खारेजी संघर्ष समितिका अगुवा हुन् । उनले मन्त्रीलाई स्वागत गर्दा खादा अर्पण गरे पनि भट्टराईलाई बेवास्ता गरेको आरोप प्रत्यक्षदर्शीहरूले लगाएका छन् । विरोधका बीच फेम्बो भने मन्त्रीसँगै रहनु र कार्यक्रम संचालन गर्नुले पनि गम्भीर संकेत दिएको छ ।

जनताको अवज्ञा या नेताको घमण्ड ?

ताप्लेजुङको लेलेपमा देखिएको विरोध केवल एक सांसदविरुद्धको होइन, जनताले आफ्नो पहिचान, संस्कृति र क्षेत्रीय स्वाभिमानमाथिको चोटको प्रतिक्रिया दिएका छन् । भट्टराईविरुद्धको चर्को नाराबाजी र सार्वजनिक अपमानले स्पष्ट संकेत गर्छ – जनताले जवाफ खोजिरहेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार १५:००   :  बजे

1.149k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।