काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आइतबार राति थाइल्यान्ड जाने भएका छन् । देउवा निकट स्रोतका अनुसार देउवा त्यहाँ आँखाको फलोअप उपचार गराउन बैंकक जान लागेका हुन् ।
त्यहाँ रहँदा उनले राजनीतिक भेटघाट समेत गर्न सक्ने बताइएको छ । देउवाको यो विदेश भ्रमणलाई मुलुकको राजनीतिक तरलताबीच अर्थपूर्ण रुपमा हेरिएको छ । कांग्रेसकै कतिपय नेताहरू प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारप्रति असन्तुष्टि जनाइरहेका बेला देउवाको बैंकक प्रस्थानले राजनीतिक वृत्तमा चासो बढाएको छ ।
कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले देउवाको भ्रमण पूर्णतः स्वास्थ्य उपचारसँग सम्बन्धित भएको दाबी गरेका छन् । “आँखाको फलोअप उपचारका लागि उहाँ आज राति १२ बजे बैंकक जान लाग्नुभएको हो,” पौडेलले जानकारी दिए ।
आजै देउवा पत्नी समेत रहेकी परराष्ट्रमन्त्री आरजु देउवा राणा समेत बैंकक जाँदै छन् । २१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एन्ड सोसियल कमिसन फर एसिया एन्ड द प्यासिफिक, युएनस्केप)को ८१औँ सत्रमा सहभागी हुन आरजु त्यसतर्फ जान लागेकी हुन् ।
हाल नेपाल युएनस्केपको अध्यक्ष छ । मन्त्री डा राणाले युएनस्केपको ८१औँ सत्रको अध्यक्षता गर्ने र उक्त सत्रलाई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ ।
उक्त सत्रमा मन्त्री डा. राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्यान्डस्थित नेपाली दूतावासका अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया