Logo

अर्थ

गभर्नर बन्न आतुर निलम ढुंगानाको ‘कु’ शैली: पदिय मर्यादाको खिल्ली, ऐनको ठाडै उल्लंघन



काठमाडौं । राष्ट्र बैंकको नेतृत्वका लागि सरकार नयाँ गभर्नर नियुक्त गर्ने तयारीमा रहँदा, कायममुकायम गभर्नर निलम ढुंगानाले चकित पार्ने कदम चालेकी छिन्। गभर्नर बन्ने लालसामा ढुंगानाले कानुन र प्रक्रियालाई नै चुनौती दिने शैलीमा आफूलाई आफैं राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्ष घोषणा गरेकी छिन्।

राष्ट्र बैंक ऐनले स्पष्ट रुपमा “गभर्नर नै सञ्चालक समितिको अध्यक्ष हुने” व्यवस्था गरेको भए पनि ढुंगानाले कार्यवाहक जिम्मेवारीको भरमा यो अधिकार हकजतिको शैलीमा उपयोग गरेकी हुन्। उनले आफू कार्यवाहक गभर्नर भएको आधारमा एक डेपुटी गभर्नरको पद खाली गराउँदै, संस्थाको संरचना नै फेरबदल गरेकी छन्, जुन अनौठो मात्र हैन संस्थागत मर्यादा बिपरित पनि छ।

राष्ट्र बैंकको वेबसाइटमा प्रकाशित सञ्चालक समितिको नयाँ नामावलीमा ढुंगानाले आफैंलाई अध्यक्षको रुपमा राखेपछि बैंक भित्र हलचल थपिएको छ। बैंकभित्रका अधिकारीहरु नै चकित छन्—कसरी एक कार्यवाहक गभर्नरले यस्तो ‘आत्मघोषित सत्तारोहण’ गर्न सक्छिन् !

सरकारभित्र गभर्नर नियुक्तिको विषयमा सहमति बन्ने क्रममा, ढुंगानाले देखाएको यो हर्कतले उनको गभर्नर बन्ने हडबडाहट मात्र होइन, सत्ता प्राप्तिका लागि संस्थागत मर्यादामाथि लात हान्ने प्रवृत्ति पनि देखाएको छ।

ढुंगानामाथि यसअघि पनि कार्यकारी निर्देशकको विवादास्पद बढुवा, निर्माण व्यवसायीलाई दिइएको कर्जा पुनर्तालिकीकरण जस्ता निर्णयका कारण आलोचना भइरहेको थियो। तर, यसपटक त उनले नैतिकता र कानुनी सीमारेखालाई नै तोडेकी छिन्।

गभर्नर बन्न आतुर ढुंगानाले देखाएको गैरजिम्मेवार चरित्रकाबीच, उनलाई गभर्नर बनाउनु भनेको राष्ट्र बैंकको विश्वसनीयता र स्थायित्वमाथि ठाडो आघात हो भन्ने निष्कर्ष अर्थविद्हरुको रहेको छ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार १३:३९   :  बजे

1.575k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।