Logo

अर्थ

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप



काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । गत वैशाख ७ गतेदेखि निष्काशित बैंकको ऋणपत्रमा वैशाख १० गतेसम्म आवेदन दिन सकिने जनाइएको थियो । तर माग बमोजिम आवेदन नपरेकाले यो ऋणपत्रमा आवेदन दिने समय वैशाख २१ गतेसम्म लम्बाइएको छ ।

मागभन्दा बढी आवेदन प्राप्त भए वैशाख २१ गते अघिपनि ऋणपत्र निष्कासन बन्द गरिने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता भएको ७ वर्षे अवधिको ‘७ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८८’नामक ऋणपत्र निष्कासन गरेको हो ।

कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात १० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात १५ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।

७ वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ७ प्रतिशत दरले ब्याज भुक्तानी हुनेछ ।

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार १०:०५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।