Logo

प्रमुख समाचार

रवि लामिछानेविरुद्ध सहकारी ठगी मुद्दा सरकारी वकिलको कार्यालयमा



वीरगन्ज । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दर्ता मुद्दा जिल्ला प्रहरी कार्यालय पर्साले ५ महिनाको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको छ ।

बयान र अनुसन्धान सकिएपछि पर्सा प्रहरीले रास्वपा सभापति लामिछानेविरुद्ध ठगी तथा सङ्गठित अपराधको मुद्दामा कारबाहीको माग गर्दै शुक्रबार प्रहरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।

लामिछानेविरुद्ध सहकारी ठगी,सम्पत्ति शुद्धिकरण र संगठित अपराध गरी तीनवटा मुद्दा दर्ता भएकोमा सहकारी र संगठित अपराध सम्बन्धी मुद्दाको अनुसन्धान सकाएर प्रहरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको  जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए । सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दाको अनुसन्धान भने जारी नै रहेको उनले बताए ।

अनुसन्धानका क्रममा वीरगन्जको सानोपाइला बचत तथा ऋण सहकारी संस्थामा लामिछानेसहितको संलग्नतामा २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ २९ पैसा रकम अपलचन भएको पुष्टि भएको उनले बताए ।

यी मुद्दामा ३० जना व्यक्ति, तीन वटा सहकारी र ८ वटा विभिन्न कम्पनीलाई प्रतिवादी बनाइएको पर्सा प्रहरीले जनाएको छ । २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय २९ रुपैयाँ बिगो माग दाबी गर्दै प्रहरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

जसमा कम्पनी र व्यक्तिको उत्तरदायित्वतर्फ १ अर्ब १२ करोड ६५ लाख २६ हजार ३ सय ९५ रुपैयाँ लिनुपर्ने माग गरिएको छ ।

यस्तै, सानो पाइला सहकारीबाट स्वर्ण लक्ष्मी बहुउद्देश्य सहकारी संस्थामा १ अर्ब १५ करोड ९१ लख ४४ हजार, सूर्यदर्शन सहकारी संस्थामा १ करोड २० लाख र आसा एण्ड इन्टरनेशनल प्रालिमा ३७ लाख ३० हजार ३७९ रुपैयाँ गैरकानुनी रुपमा गएको देखिएको लम्सालले बताए ।

प्रहरीका अनुसार वीरगन्जको सानोपाइला सहकारीमा रकम बचत गरेका ४३८ बचतकर्ताहरूले आफूहरूको रकम अपचलन गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता गराएका थिए ।

सुरुमा २०८० साल साउन २१ गते ५२ जनाले, २०८० सालकै भदौ २२ गते २०७ जनाले र २०८१ साल फागुन २ गते १७९ जना बचतकर्ताले सानो पाइलाले रकम अपचलन गरेको भन्दै लामिछानेसहित विभिन्न व्यक्तिलाई प्रतिवादी बनाएर जाहेरी दर्ता गराएका थिए । तर त्यस बेला सहकारी ठगीमात्रै अनुसन्धान थालेको प्रहरीले पछि संसदीय छानबिन समितिले सम्पति सहकारी ठगीसंगै शुद्धिकरण र संगठीत अपराधमापनि छानबिन गनुपर्ने प्रतिवेदन सार्वजनिक गरेपछि पर्सा प्रहरीले ती तीन वटै मुद्दामा अनुसन्धान गरेको लम्सालले बताए ।

लामिछानेलाई सहकारी ठगी लगायतका प्रकरणमा अनुसन्धानका लागि पर्सा प्रहरीले गत मंसिर २४ गते पोखराबाट पक्राउ गरेर वीरगन्ज ल्याएको थियो । लामिछाने हाल सहकारी ठगी प्रकरणमा रुपन्देही कारागारमा छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आईतवार १६:५१   :  बजे

162
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।