Logo

अर्थ

१७ अर्ब ८६ करोड बराबरको अवैध वित्तिय कारोबारमा संलग्न २१ जना पक्राउ



काठमाडाैं । अवैध वित्तीय कारोबारमा संलग्न रहेको अभियोगमा विभिन्न मनी ट्रान्सफरका सञ्चालकहरूसमेत गरी २१ जनालाई केन्द्रीय अनसुन्धान ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १ सय ७ रूपैयाँ बराबरको कारोबार गरेको प्रहरीको दाबी छ ।

पक्राउ पर्नेहरूमा मोरङका ५९ वर्षीय वीरेन्द्रप्रसाद साह, ३१ वर्षीय दीपेन्द्रप्रसाद साह, महोत्तरीका २४ वर्षीय श्रवणकुमार साह, सप्तरीका ३२ वर्षीय तारालाल यादव, ३५ वर्षीय रामविलास साह तेली, ३२ वर्षीया ममता कुमारी साह, ३१ वर्षीया सुशीलाकुमारी साहु र २२ वर्षीय शम्भु मेहता रहेका छन् ।

यस्तै, सर्लाहीका २५ वर्षीय हरेराम महतो, धनुषाका ३१ वर्षीय निरोजकुमार महतो, ४५ वर्षीया अलितादेवी महतो, ३५ वर्षीय प्रकाश सिंह, २७ वर्षीय अरुणकुमार साह, ४४ वर्षीय सञ्जीवकुमार महतो, पर्साका २६ वर्षीय प्रदीपकुमार साह, ३२ वर्षीय विकर्णजंग राणा र ३८ वर्षीय सलमा खातुन पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नवलपरासीका २२ वर्षीय राजकमल लोनिया, ४३ वर्षीया भीमकुमारी गुरुङ, ३४ वर्षीय गणपति पाण्डे र चितवनका ६४ वर्षीय गोविन्दप्रसाद आचार्य पनि पक्राउ परेका छन् ।

आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषणबापत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी आन्तरिक विप्रेषणको नाममा नेपालमा अवैध कारोबार (भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली) लगायतमा उनीहरूको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

यस्तै, विभिन्न रेमिट्यान्स भुक्तानी गर्न अनुमति लिएका मनी ट्रान्सफर प्रालिहरूले उक्त डिजिटल वालेट कम्पनीहरूमार्फत ई–मनी बनाई सो रकमलाई रेमिट्यान्सबापत भुक्तानी पाउनुपर्ने विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीहरूका नेपालमा रहेका आफन्तहरूको खातामा ट्रान्सफर गरी रेमिट्यान्सबापतको रकम हिसाब मिलान गरेको प्रहरीले जनाएको ।

उनीहरू उपर नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिमको कसुरमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलवार ११:४२   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।