काठमाडौं । एनएमबि बैंकले नेपालमै पहिलो पटक ६ करोड अमेरिकी डलर बराबरको हरित बोन्ड (ग्रिन बोन्ड) जारी गर्ने भएको छ । अन्तर्राष्ट्रिय निकायहरु अन्तर्राष्ट्रिय वित्त निगम, ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट र मेटलाइफसँगको साझेदारीमा नेपालमै पहिलो यस्तो बोन्ड जारी हुने भएको हो ।
बैंकले ६ करोड अमेरिकी डलर बराबरको नेपाली रुपैयाँ अंकित हरित बोन्ड जारी गर्न साझेदारी पत्रमा हस्ताक्षर गरेको छ । सहकार्यले जलवायु परियोजनाहरुमा संलग्न उद्यमहरुमा लगानी विस्तार गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गुणस्तरीय रोजगारी सिर्जना हुने लक्ष्य समेत लिएको छ । त्यसैगरी, यसले देशको उर्जा क्षेत्रको विकसमा थप टेवा पुग्ने विश्वास बैंकको रहेको छ ।
यस बोन्ड जारी गरी प्राप्त हुने रकम विशेषतः सौर्य उर्जा लगायतका नवीकरणीय ऊर्जाहरु, विद्युतीय सवारी, हरित भवन तथा बायोमास जस्ता परियोजनामा लगानी विस्तार गर्ने लक्ष्य लिएको छ ।
समझदारीपत्र हस्ताक्षर समारोहमा बैंकका संचालक समितिका अध्यक्ष मनोज कुमार गोयलले यस प्रयास मार्फत नवीकरणीय उर्जा लगायतका क्षेत्रहरुमा एक पारिवर्तनकारी फड्को मार्ने विश्वास व्यक्त गरे । साथै एनएमबि बैंकको यस पहलले विदेशी पुँजीलाई स्वदेशमा भित्र्याई जलवायु क्षेत्रमा लगानी गर्दै उक्त क्षेत्रमा परेको पर्यावरणीय प्रभावलाई न्युनीकरण गर्न थप सहयोग पुग्ने बताए ।
प्रतिक्रिया