Logo

अर्थ

यातायात कार्यालय हेटौँडाले उठायो ९ महिनामा ४५ करोड राजस्व



मकवानपुर । यातायात व्यवस्था कार्यालय हेटौँडाले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा ४५ करोड ६६ लाख भन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार साउनदेखि चैत महिनासम्मको अवधिमा नयाँ सवारी दर्ता, नवीकरण, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण लगायतका शिर्षकहरूबाट उक्त राजस्व संकलन भएको हो ।

कार्यालय प्रमुख प्रवीण श्रेष्ठका अनुसार, राजस्व संकलनमा सबैभन्दा बढी हिस्सा सवारी करबाट भएको छ ।

कार्यालय प्रमुख श्रेष्ठका अनुसार चालु आवको नौ महिनामा सवारी चालक अनुमतिपत्र वितरणबाट रु सात करोड आठ लाख ७१ हजार तीन सय १४, सवारी करबाट रु २८ करोड २७ लाख ३७ हजार दुई सय ९९, यातायात क्षेत्रको आम्दानीबाट रु सात करोड १५ लाख ७६ हजार नौ सय ९२, सङ्घीयता तर्फ रु तीन करोड १४ लाख ९१ हजार नौ सय ५३ तथा बेरुजुबाट रु आठ हजार दुई सय ५० राजस्व सङ्कलन भएको छ ।

यस्तै चालु आवको सो अवधिमा मोटरसाइकल दुई हजार दुई सय ३४ वटा, साना सवारी आठ सय ४७ वटा, टेम्पो/ई–रिक्सा छ सय २६, ठूला तथा मझौला सवारी छ सय २४ वटा र ट्याक्टर ११ गरी चार हजार तीन सय ५१ नयाँ सवारी दर्ता भएको कार्यालय प्रमुख श्रेष्ठले बताए । यस अवधिमा नयाँ चार हजार सात सय ८१ र वर्ग थप दुई हजार एक सय ६१ गरी पाँच हजार तीन सय ५९ जनालाई सवारी चालक अनुमतिपत्र (लाईसेन्स) वितरण गरिएको प्रमुख श्रेष्ठले बताए ।

यस्तै सो अवधिमा चार हजार सात सय ८१ नवीकरण, ७६ प्रतिलिपी र ६३ वटा नवीकरण र प्रतिलिपी दिइएको जनाएको छ । सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शीर्षकमा रु ५६ करोड सात लाख १७ हजार राजस्व सङ्कलन गरेको थियो भने चार हजार तीन सय ९९ वटा सवारी साधन दर्ता गरेको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार १६:४१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।