काठमाडाैं। डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रा.लि. र सिटिजन्स क्यापिटल लिमिटेडबीच संस्थागत परामर्श सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतामा डोलेश्वर रिसोर्टका तर्फबाट अध्यक्ष रामनाथ मैनाली र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटलले डोलेश्वर रिसोर्टलाई प्रा।लि। बाट पब्लिक कम्पनीमा रुपान्तरण गर्ने प्रक्रिया सञ्चालन गर्नेछ । साथै, प्राथमिक शेयर निष्कासन (आईपीओ) का लागि आवश्यक तयारी, नियामक स्वीकृति प्राप्त गर्नेसम्मको सम्पूर्ण परामर्श सेवा प्रदान गरिने छ ।
२०७६ सालदेखि व्यवसाय सञ्चालनमा रहेको डोलेश्वर भिलेज रिसोर्ट भक्तपुरको डोलेश्वर क्षेत्रमै १० रोपनी क्षेत्रफलमा फैलिएको छ । हाल रिसोर्टमा १५ वटा गेष्ट कोठा छन् भने नयाँ कोठा थपेर संख्या ३५ पुर्याउने तयारी भइरहेको छ । स्वीमिङ पुलसमेत निर्माणाधीन अवस्थामा रहेको र सम्पूर्ण निर्माण कार्य चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको रिसोर्टले जनाएको छ ।
रिसोर्टभित्र ३०० जनासम्म अटाउने क्षमता भएका साना–ठूला गरी ३ वटा सभा हलहरू रहेका छन् । विवाह, ब्रतबन्ध, सेमिनार, गोष्ठी र पिकनिकको लागि उपयुक्त स्थानका रूपमा यो रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान तानेको छ ।
डोलेश्वर महादेव मन्दिरदेखि केवल २०० मिटर टाढा अवस्थित यस रिसोर्टले धार्मिक पर्यटनसँगै व्यवसायिक कार्यक्रमको केन्द्रविन्दु बन्ने आकांक्षा लिएको छ । पब्लिक कम्पनीको रूपमा रुपान्तरणपछि पूँजी संरचना विस्तार भई सेवा स्तर थप उन्नत हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया