बिर्तामोड । नेपाल–भारत सीमास्थित झापाको दक्षिणी सीमावर्ती क्षेत्र झापा गाउँपालिका–४, टाघनडुब्बामा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ परेकाहरूको साथबाट १४ ग्राम ७१ मिलिग्राम ब्राउनसुगर (खैरो हेरोइन) फेला परेको प्रहरीले जनाएको छ ।
मङ्गलबार साँझ ६:३० बजे झापा गाउँपालिका–४, टाघनडुब्बामा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका यात्रीलाई शङ्का लागेर जाँच गर्दा उक्त लागूऔषध बरामद भएको हो ।
पक्राउ पर्नेहरूमा झापाको दमक नगरपालिका–१० बस्ने ३२ वर्षीय सुरज राय र मोरङको विराटनगर महानगरपालिका–३ बस्ने ४२ वर्षीय बाबुराम दर्जी रहेका छन् ।
रायले कालो प्लास्टिकको पोकामा लुकाइछिपाई ल्याउँदै गरेको प्लास्टिकबाहेक ६ ग्राम १ मिलिग्राम र दर्जीको साथबाट प्लास्टिकबाहेक ८ ग्राम ७० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।
जम्मा १४ ग्राम ७१ मिलिग्राम ब्राउनसुगरसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, झापामा राखिएको सो कार्यालयले जनाएको छ ।




















प्रतिक्रिया