काठमाडौं । दक्षिण एसियामा आफ्नो उपस्थिति मजबुत बनाउने रणनीतिक योजनाअन्तर्गत स्टेलान्टिसले नेपालमा दोस्रो डिलरसिप उद्घाटन गरेको छ ।
स्टेलान्टिस इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक शैलेश हजेला र सांग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाको उपस्थितिमा नेपालस्थित फ्रान्सका राजदूत भर्जिनी कोर्तेवालले नयाँ डिलरसिपको औपचारिक उद्घाटन गरिन् ।
डिलरसिप गोल्छा अर्गनाइजेसन अन्तर्गतको सहायक कम्पनी सांग्रिला मोटर्स प्रालिबाट सञ्चालन हुनेछ । काठमाडौं उत्तरढोकामा अवस्थित नयाँ प्रमुख शोरुममा विश्व प्रसिद्ध तीन ब्रान्ड सिट्रोएन, लिप मोटर र प्युजोलाई एउटै छानामुनि प्रस्तुत गरिएको छ, जसले ग्राहकलाई उत्कृष्ट र सहज अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।
उद्घाटन समारोहमा हजेलाले भने, ‘नेपाल हाम्रो अपरेसनको रणनीतिक बजार हो । हामी सांग्रिला मोटर्ससँगको सहकार्य मार्फत नेपाली ग्राहकलाई विश्वस्तरीय मोबिलिटी समाधान उपलब्ध गराउन पाउँदा निकै उत्साहित छौं । यो नयाँ शोरुम मार्फत स्टेलान्टिसले अगामी युगका विद्युतीय सवारीसाधन सहित विश्व प्रसिद्ध प्रविधि र ब्रान्ड नेपाली बजारमा प्रस्तुत गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ ।’
त्यस्तै गोल्छाले नयाँ शोरुम उत्कृष्ट ग्राहक अनुभवमा केन्द्रित गर्दै गरेको लगनशील प्रयासको निरन्तरता भएको बताए । ‘सिट्रोएन, लिप मोटर र प्युजो एकै स्थानमा उपलब्ध गराएर हामी नेपाली ग्राहकका लागि प्रिमियम मोबिलिटी समाधानको एकमात्र गन्तव्य बन्नेछौं भन्ने विश्वास लिएका छौं,’ उनले भन, ‘यस विस्तारले ग्राहकको विश्वास र ब्रान्डप्रतिको प्राथमिकता झनै मजबुत बनाउने छ ।’
प्रतिक्रिया