काठमाडाैं । प्रतिनिधिसभा सदस्य विनोद चौधरीको सक्रिय पहलमा पश्चिम नवलपरासी क्षेत्र नं. १ मा सहरी विकास मन्त्रालयअन्तर्गत ३१ करोडभन्दा बढीको बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित बजेटले यस क्षेत्रका पूर्वाधार विकास, सहरी सौन्दर्यीकरण र विपन्न परिवारका लागि आवास निर्माणजस्ता परियोजनालाई प्राथमिकता दिइएको छ ।
सांसद चौधरीको समन्वयमा विनियोजित बजेटबाट एकीकृत बस्ती विकास (सुस्ता), आपतकालीन आवास भवन, सडक निर्माण र पार्क निर्माण कार्यका लागि मात्रै १ करोड ६ लाख रुपैयाँ छुट्याइएको छ । यसैगरी, सुस्ता, प्रतापपुर र सरावल गाउँपालिकाका गरिब तथा विपन्न परिवारलाई लक्षित गरी आवास पूर्वाधार निर्माणका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ।
बर्दघाट नगरपालिकाको विभिन्न स्थानमा सडक स्तरोन्नति तथा निर्माणका लागि ठूलो मात्रामा बजेट छुट्याइएको छ । विष्णु खोला दुवैतर्फ सडक स्तरोन्नतिको लागि ३ करोड, पोटाहादेखि चौपत्ता पशु बजार त्रिवेणी जोड्ने सडकको लागि ३ करोड, टिसिएन चोकदेखि नारायणचोकसम्म ५ किलोमिटर सडक विस्तारका लागि पनि ३ करोड रुपैयाँ छुट्याइएको छ ।
प्रतापपुर र सरावलका विभिन्न वडामा सडक स्तरोन्नति तथा कालोपत्रेको लागि थप ६ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै, प्रतापपुरदेखि बेलाटारी जोड्ने मुख्य सडकमा पुल निर्माण र बलिनगर डङेनको फडकी टोलमा पुल निर्माणका लागि छुट्टाछुट्टै ३–३ करोड बजेट सुनिश्चित गरिएको छ ।
सहरी विकास र सौन्दर्यीकरणतर्फ बर्दघाटको नारायणचोक, गोपीगञ्ज, सेमरी, बेलाटारी, कुडियासम्मको बजार क्षेत्रमा १३ किलोमिटरको एक सय स्थानमा फ्लड लाइट, सडक पेटीमा वृक्षारोपण र सौन्दर्यीकरणका लागि ३ करोड रुपैयाँ बिनियोजना गरिएको छ । यसमा बर्दघाट, प्रतापपुर र सुस्ता गाउँपालिका समेटिनेछन्। ।
पर्यटन विकासतर्फ बाउन्न खोला सिमसार पर्यापर्यटन विकासका विभिन्न संरचना निर्माण (बर्दघाट १०) का लागि ३ करोड विनियोजन हुनुका साथै बर्दघाट नयाँ शहर जग्गा एकीकरण कार्यको सम्भाव्यता अध्ययन गरी डिपिआर तयार गर्न ९ लाख रुपैयाँ छुट्ट्याइएको छ ।




















प्रतिक्रिया