भक्तपुर । नेपाल तरुण दल भक्तपुर जिल्ला अन्तर्गत सूर्यविनायक नगरको नगर अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिको कार्यालयमा सम्पन्न अधिवेशनले रञ्जन बस्नेतलाई सर्वसम्मत नगर अध्यक्षमा चयन गरेको हो ।
नगर अधिवेशनबाट ९ जना जिल्ला प्रतिनिधिहरू समेत चयन गरिएको निर्वाचन अधिकृत अधिवक्ता शेषांश गिरीले जानकारी दिए । प्रतिनिधिहरूमा खुल्ला कोटाबाट हरि खड्का (खस आर्य), बिजेश जोशी, र सुरेन्द्र श्रेष्ठ रहेका छन्। महिलातर्फ सायना केसी (खुल्ला महिला) र सबिता डागी (आदिवासी जनजाति महिला) चयन भएका छन् । त्यसैगरी कुमार रानामगर (आदिवासी जनजाति), निकेश नेपाली (दलित पुरुष), बस्ती अछामी (दलित महिला), र श्याम कुमार माडी श्रेष्ठ (फरक क्षमता) पनि जिल्ला प्रतिनिधिका रूपमा चयन भएका हुन् ।
कार्यक्रमको प्रमुख आतिथ्य नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति तथा संघीय सांसद दुर्लभ थापाले गरेका थिए । कार्यक्रममा नेपाल तरुण दलका पूर्व अध्यक्ष विनोद कायस्थ, नेपाली कांग्रेस सूर्यविनायक नगर सभापति निशान ढुंगेल र जिल्ला अधिवेशन संयोजक राजु थापाको विशेष आतिथ्य रहेको थियो ।
अधिवेशन नेपाल तरुण दल सूर्यविनायक नगर अध्यक्ष उमेश अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा पार्टीका जिल्ला तहका नेताहरू र युवाहरूको बाक्लो उपस्थिति रहेको थियो ।
प्रतिक्रिया