काठमाडौं । सत्तारुढ नेकपा एमाले निकट अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन)को २४औं महाधिवेशनमा सहमति नजुटेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । नेतृत्व चयनमा देखिएको असहमतिको झल्को महाधिवेशनस्थलमै नाराबाजीका रूपमा देखिएको छ ।
महाधिवेशन कीर्तिपुरमा जारी छ, जहाँ अध्यक्ष पदका लागि पाँच जना उम्मेदवारले आकांक्षा व्यक्त गरेका छन् । उनीहरूमा सुजन कडरिया, दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई र अञ्जना सिवाकोटी छन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थन कडरियातर्फ देखिएपछि अध्यक्ष मण्डलबाट उनको नाम औपचारिक रूपमा अगाडि सारिएको थियो । तर, यस निर्णयप्रति असन्तुष्टि जनाउँदै केही प्रतिनिधिहरूले नाराबाजी गरेपछि निर्वाचन समिति सक्रिय भएको हो ।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार आजै ३ देखि ५ बजेसम्म उम्मेदवारी दर्ता फारम वितरण गर्ने, ४ देखि ६ बजेसम्म दर्ता गर्ने बताइएको छ । आजै राति ८ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने बताइएको छ ।
निर्वाचन कार्यतालिका अनुसार, भोलि असार ३ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मतदान प्रक्रिया सञ्चालन हुनेछ ।
प्रतिक्रिया