Logo

समाचार

पत्रकार महासंघद्वारा समाचार डिलिट गर्ने आदेश पुर्नविचार गर्न आग्रह



काठमाडौं । नेपाल पत्रकार महासंघले दुई सञ्चारमाध्यम—नेपालखबर डटकम र बिजमान्डु डटकम—माथि जिल्ला अदालत काठमाडौंले दिएको समाचार हटाउने अल्पकालीन अन्तरिम आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले उक्त आदेश प्रेस स्वतन्त्रता तथा संवैधानिक मूल्य मान्यताविरुद्ध भएको भन्दै अदालतसँग आदेश पुर्नविचार गर्न आग्रह गरेको छ ।

महासंघका अनुसार समाचारका विषयमा असन्तुष्ट पक्षले प्रेस काउन्सिलमार्फत प्रक्रिया अघि बढाउनु पर्नेमा सो प्रणालीलाई बेवास्ता गर्दै अदालतबाट प्रत्यक्ष समाचार हटाउने आदेश दिनु संविधान र अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रताको मर्म विपरीत भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीस पीताम्बर शर्माको एकल इजलासले मंगलबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दर्ता गरेको रिट निवेदनमा सुनुवाइ गर्दै समाचार हटाउन आदेश दिएको थियो ।

आदेशमा भनिएको थियो, ‘…निवेदकलाई अपूरणीय क्षति र सुविधा सन्तुलनसमेतको दृष्टिकोणबाट विपक्षीहरूलाई आफ्नो वेबसाइट, अनलाइन वा अन्य माध्यमबाट अप्रमाणित, तथ्यहीन समाचारहरू प्रकाशन, प्रसारण नगर्नु, नगराउनु, प्रकाशित भएका समाचारहरू अनलाइनबाट तुरुन्त हटाउनु, हटाउन लगाउनु ।’

समाचारका विषयमा चित्त नबुझ्ने पक्षले प्रेस काउन्सिल नेपालमार्फत अघि बढ्नुपर्नेमा काउन्सिलको क्षेत्राधिकार समेत मिच्दै अदालतबाट आदेश आउनु प्रेस स्वतन्तन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मूल्यमान्यता र नेपालको संविधान २०७२ गरेको व्यवस्था र मर्मविपरित भएको महासंघले ठहर गरेको महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार १४:३०   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।