Logo

कोशी प्रदेश

स्वच्छ पानीको लागि ‘बायो स्याण्ड फिल्टर’ वितरण



खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पिपचाहीका स्थानीयलाई स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण गरिएको छ ।

गाउँमा पानीको सुविधा भए पनि मुहान दूषित हुँदा स्थानीयवासी दूषित पानी पिउनुपर्ने बाध्यतामा थिए ।

नगरपालिकाको आर्थिक सहयोग तथा वेष्ट पानी कम्पनी लिमिटेडको प्राविधिक सहयोगमा ‘एक घर, एक फिल्टर’ निर्माण गर्ने गरी फिल्टर निःशुल्क वितरण गरिएको सो वडाका वडाध्यक्ष भुपालसिं राईले जानकारी दिए ।

अब २६ घर सर्वसाधारणले प्रशोधन गरिएको स्वच्छ पानी पिउन पाउने भएका छन् ।

गाउँभन्दा करिब आठ सय मिटर टाढा धामीखोलाबाट गाउँमा पाइपमार्फत ल्याइएको पानी दूषित भएपछि स्थानीयले नगरपालिकासँग फिल्टर माग गरेका थिए ।

खोलामा बगेको पानी अत्यन्तै दूषित पाइएकाले हरेक घरमा शुद्ध पानी उपलब्ध गराउने नगरपालिकाको योजनाअनुसार फिल्टर वितरण गरिएको नगरप्रमुख विमला राईले बताइन् ।

उनले भनिन्भ, ‘दूषित पानी उपभोगले स्थानीयलाई विभिन्न प्रकारका रोगहरूसमेत लाग्ने गरेको थियो । अब कम्तीमा पनि २० वर्ष शुद्ध पानी पिउन पाउने भएका छन् ।’

यहाँस्थित बाल विकास प्राथमिक विद्यालयमा पनि सोही फिल्टर प्रयोग गरेर पानी प्रशोधित गरिएको छ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार ०८:४०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।