Logo

प्रमुख समाचार

विप्लव भन्छन् : आयोग बनाउने भत्काउने किन गरिराखेको ?



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बेपत्ता नागरिकसम्बन्धी मुद्दामा राज्य संवेदनहीन बनेको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित बेपत्ता पारिएका नागरिकको सार्वजनिकीकरणको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव चन्दले शान्ति प्रक्रियाको १९ वर्षपछि पनि राज्यले जिम्मेवारी नलिएर बेपत्ता परिवारप्रति उपेक्षा आरोप लगाएका हुन् ।

चन्दले बेपत्ता नागरिकका छानबिन आयोगहरू बारम्बार गठन र विघटन हुनु राजनीतिक षड्यन्त्र र जालसाजीको सङ्केत भएको टिप्पणी गरे ।

उनले आयोग बनाउने र भत्काउने क्रम किन रोकिँदैन, कस्तो व्यक्ति चाहिएको हो आयोगमा ? भन्दै प्रश्न समेत गरे ।

राजनीतिक नेतृत्वमा रहेको कुनियत र स्वार्थका कारण बेपत्ता नागरिकका मुद्दा समाधान गर्न नसकिएको महासचिव चन्दको भनाइ छ ।

उनले भने, ‘यो १९ वर्षमा शान्ति प्रक्रियाको सवालमा यो राज्य संवेदनहीन रूपमा देखा पर्‍यो । माओवादीसँग सम्बन्धित मान्छेलाई मात्र परेको कुरा वा बेपत्ता योद्धाको परिवारलाई परेको पीडा मात्र होइन ।

एउटा निष्पक्ष र न्यायिक दृष्टिले हेर्ने न्यायवादी, मानवतावादी, मानव अधिकारवादी र सचेत नागरिक सबैलाई के परेको छ भने बरु छलफल निष्पक्ष गरे हुन्छ तर यो त टुङ्ग्याउनुपर्ने विषय हो नि ।

यस विषयमा राज्य किन यति धेरै लापरबाही बनेको ? किन जबाफदेहीविहीन बनेको ? अर्को तरिकाबाट भन्ने हो भने बलिदान र त्याग गर्नेहरूमाथि यति धेरै पूर्वाग्रही र हेलचेक्र्याइँ किन गरेको ? भन्ने प्रश्न आज खडा भएको छ ।’

उनले थपे, ‘यो १९ वर्षले राज्य संवेदनहीन बनेको नै भन्छ । अहिले जसरी आयोगहरू बन्ने र भत्किने काम भएको छ त्यो राज्यको एकदमै षड्यन्त्रपूर्ण र जालसाजीपूर्ण कार्यको रूपमा देखिन्छ । बनाउने भत्काउने, बनाउने भत्काउने किन गरिराखेको ? कस्तो मान्छे चाहिएको हो आयोगमा ?

बेपत्ताकै नाममा पैसा खर्च भइरहेको छ तर निष्कर्ष कहिले पुग्दैन । नेपालको राजनीतिमा कुनियत छ, त्यहाँ षड्यन्त्र छ भन्ने बुझिन्छ ।  यो विषयलाई टुङ्गोमा पुर्‍याउनुभन्दा त्यसमा कसै न कसैको स्वार्थ छ भन्ने देखिन्छ ।’

नेपालमा गुलामीको संस्कृति भित्रिरहेको उल्लेख गर्दै उनले राजनीतिक आन्दोलनको माध्यमबाट स्वाधीनतामा झार्नुपर्ने आवश्यकता रहेको समेत बताए ।

 

प्रकाशित मिति : ३ असार २०८२, मंगलवार २१:४०   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।