Logo

कर्पोरेट फोकस

वाणिज्य बैंकहरुको तलबभत्ता खर्चमा ६.३३ प्रतिशत वृद्धि, कुन बैंकले कति खर्चिए ?



काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुले कर्मचारी तलबभत्तामा ४८ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, वैशाख मसान्तसम्म २० वटा वाणिज्य बैंकहरुले जम्मा ४८ अर्ब ४२ करोड ४८ लाख रुपैयाँ तलबभत्तामा खर्च गरेका हुन्, जुन अघिल्लो वर्षको सोही अवधिमा गरिएको ४५ अर्ब ५४ करोड २९ लाख रुपैयाँको तुलनामा ६.३३ प्रतिशतले बढी हो।

सबैभन्दा धेरै तलबभत्तामा खर्च गर्ने बैंकको सूचीमा राष्ट्रिय वाणिज्य बैंक छ। बैंकले १० महिनामा ३ अर्ब ५२ करोड ९८ लाख रुपैयाँ तलबभत्तामा खर्च गरेको छ। दोश्रो स्थानमा कुमारी बैंक रहेको छ, जसले ३ अर्ब ३७ करोड ६५ लाख रुपैयाँ खर्च गरेको छ। त्यसै ग्लोबल  आइएमई बैंकले  ३ अर्ब १५ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्षको तुलनामा यस बैंकको तलबभत्ता खर्च ३.८ प्रतिशतले बढेको छ।

त्यसैगरी, लक्ष्मी सनराइज बैंकको  ३ अर्ब १९ करोड ८४ लाख, प्रभु बैंकको ३ अर्ब १२ करोड ११ लाख, नेपाल बैंकको  ३ अर्ब ११ करोड ७ लाख ,नबिल बैंकको ३ अर्ब १० करोड ९ लाख र कृषि विकास बैंकको  ३ अर्ब ८ करोड २४ लाख रहेको छ। जसमध्य लक्ष्मी सनराइज, नेपाल बैंक र कृषि विकास बैंकको खर्चमा वृद्धि देखिएको छ भने प्रभु र नबिल बैंकको खर्च घटेको छ।

त्यस्तै , चालु आर्थिक वर्षको १० महिनामा एनआईसी एसिया बैंकले २ अर्ब ८१ करोड ५९ लाख, हिमालयन बैंकले २ अर्ब ७४ करोड ८५ लाख, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २ अर्ब ६३ करोड ९१ लाख, एनएमबि बैंकले २ अर्ब ४७ करोड ९२ लाख, सिद्धार्थ बैंकले २ अर्ब २९ करोड ५२ लाख, माछापुच्छ्रे बैंकले १ अर्ब ७५ करोड ७७ लाख खर्च गरेका छन्

यस अवधिमा एभरेष्ट बैंकले १ अर्ब ५० करोड ८ लाख, सिटिजन्स बैंकले १ अर्ब ४४ करोड ६ लाख,प्राइम बैंकले १ अर्ब ४२ करोड ३६ लाख, सानिमा बैंकले १ अर्ब ३६ करोड २६ लाख, नेपाल एसबीआई बैंकले १ अर्ब २९ करोड ३८ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ८७ करोड ४० लाख तलब भत्तामा खर्च गरेका छन्।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार १५:५८   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।