काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले एमालेले दलैपिच्छे सम्झौता गर्दै नहिंड्ने बताएका छन्। उनले संसद चलाउन प्रमुख प्रतिपक्षी दलसँग सहमति गरिसकेकाले सोहि अनुसार सदन अघि बढ्ने बताएका हुन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै नहिँड्ने टिप्पणी गर्दै माओवादीसँग भएको सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिन हुने बताए।
उनले भने, ‘सरकारले सहमति गरेपछि पनि रास्वपा स्टन्ट गर्न लागिरहेको छ। आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा नियमावलीअनुसार नै निर्धारण भएको हो। अर्को दिन गरौँ भनेर मिल्दैन। सभामुखले नाराबाजीबीच प्रधानमन्त्रीलाई अगाडि उभ्याउन मिल्दैन भन्ने लागेर कार्यसूचीबाट हटाउनुभयो।’
नीलो रिबन र कालो लुगा लगाएर रास्वपाले स्टन्ट गरेको उनको आरोप छ। त्यस्तै, रास्वपा सांसदहरूको गतिविधिलाई केटाकेटीको संज्ञा दिँदै उनले यस्तै प्रवृत्ति देखाइरहे रास्वपा स्वयमलाई निल्ने उनको दावी छ।


















प्रतिक्रिया