Logo

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा राइड सेयरिङ स्थगन नगर्न सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशको राइड सेयरिङ नियमावली, २०८२ स्थगन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता जयप्रसाद पौडेलले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवा स्थगन नगर्न आदेश दिएको हो ।

साथै, अदालतले सार्वजनिक यातायातमा हड्ताल नगर्न निर्देशनात्मक आदेश पनि जारी गरेको छ ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवामार्फत हजारौँ युवालाई रोजगारी र स्वरोजगारको अवसर सिर्जना हुने भन्दै यो नियमावली प्रदेश सभाबाट पारित गरेको थियो ।

तर, यातायात व्यवसायीको विरोध र हड्तालका कारण केन्द्र सरकारले प्रदेशलाई नियमावली कार्यान्वयन तत्काल स्थगित गर्न दबाब दिएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जेठ २० गते पठाएको पत्रमा जनजीवन सहज बनाउन भन्दै एक महिनाका लागि नियमावली कार्यान्वयन रोक्न आग्रह गरिएको थियो ।

गण्डकी प्रदेश सरकारले यो नियमावली विधिको शासन, संवैधानिक व्यवस्था र सङ्घीय सहमतिका आधारमा तयार भएको दाबी गरेको छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलवार २०:०२   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।