Logo

खेलकुद

प्रसिद्धको शतकमा नेपालको विशाल योगफल



काठमाडौं । ओपनिङ ब्याटर प्रसिद्ध जैसीले शतक बनाएपछि मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले इन्डोनेसियाविरुद्ध विशाल योगफल तयार गरेको छ ।

क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ४२० रन बनाएर इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य दिएको हो ।

नेपालको उमेर समूहदेखि सिनियर टोलीले ५० ओभरको कुनै प्रतियोगितामा बनाएको सर्वाधिक योगफल हो ।

जैसीले ११४ बलमा १३२ रनको शानदार शतकीय पारी खेले । उनले १५ चौका र १ छक्का प्रहार गरे । त्यस्तै रौनक श्रीवास्तवले ७१ बलमा ८ चौका र २ छक्का मद्दतमा ८८ रन बनाए ।

अर्का ओपनर परिमार्जन यादवले २८ बलमा ७१ रनको विस्फोटक पारी खेले जहाँ उनले ४ चौका र ८ छक्का प्रहार गरे । जोय थापाले ४१ बलमा ५७ रन बनाए ।

पहिलो विकेटका लागि जैसी र यादवले मिलेर १३० रनको साझेदारी गरेका थिए । त्यसपछि दोस्रो विकेट १५१ रनमा खसेको थियो भने तेस्रो विकेटका लागि जैसी र रौनकले मिलेर १४८ रनको साझेदारी गरे ।

इन्डोनेसियाका केतुत दर्मा पुत्राले २ विकेट लिए भने काभिन नीरज, महेन्द्रा आजी र रेहान रिजाले १-१ विकेट लिए ।

प्रकाशित मिति : १५ असार २०८२, आईतवार ११:३५   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।