Logo

कोशी प्रदेश

सङ्खुवासभा–भोजपुर जोड्ने खोलामा बेलिब्रिज जडान



सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ मांतेवा र भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ बुम्लिंगटार जोड्ने सङ्खुवा खोलामाथि बेलिब्रिज जडान गरिएको छ ।

सिलिचोङ गाउँपालिकाले राष्ट्रिय गौरवको आयोजना घोषणा गरी आफ्नै बजेटबाट निर्माण सम्पन्न गरेको सो पुलको गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङले उद्घाटन गरे । करिब रु चार करोड ३९ लाखको लागतमा ३९ मिटर लम्बाइको बेलिब्रिज निर्माण गरिएको हो ।

यसअगाडि स्थानीयवासी काठ र बाँसको फड्के प्रयोग गरी जोखिम मोलेर खोला तर्दै आएका थिए । अहिले पुल बनेसँगै सुरक्षित र भरपर्दो आवागमनको सुविधा पुगेको अध्यक्ष मेवाहाङले बताए । पुलसँगै सडकको दायाँबायाँ ग्याविन तारजाली भर्ने र ढुङ्गा ओछ्याउने कामसमेत सम्पन्न भइसकेको छ ।

पुल निर्माणपछि मांतेवा, याफू र ताम्कु गाउँका करिब तीन हजारभन्दा बढी बासिन्दालाई खाँदबारी सदरमुकाम आवतजावत गर्न सहज भएको छ । छिमेकी बुम्लिंगटार क्षेत्रका स्थानीयवासीलाई सङ्खुवासभातर्फको यात्रा थप सहज र सुरक्षित बनेको छ ।

प्रकाशित मिति : १५ असार २०८२, आईतवार २३:३३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।