Logo

बैंकिङ

प्राइम बैंकको नाफा नबिलको हाराहारीमाः कसरी मार्यो बैंकले फड्को ? यस्तो छ कारण 



पछिल्लो समय बैंकिङ क्षेत्रलाई मर्ज तथा एक्वीजिशन तरंगित बनायो । प्राइम कमर्शियल बैंकले पनि पछिल्लो समय कैलाश र कन्काइ विकास बैंकको (प्राप्ति) एक्विजिशन गर्यो । जसको प्रतिफल स्वरुप प्राइम बैंकको यो आर्थिक वर्षको पहिलो वित्तीय प्रकाशनपछि बैंकिङ क्षेत्रमा ठूलै तरङ्ग ल्यायो । कारण यो हो की नेपाली बैंकीङ बजारमा पुरानै शैलिमा चलेको बैंक भनेर चिनीने बैंकले यति धेरै नाफा कसरी कमायो ? 

हेरौँ प्राइमबैंकको त्रैमासीक रिपोर्ट

बैंकको यो आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १ करोड ७६ लाख ३४ हजार ९१० रुपैयाँ नाफा आर्जन भएको छ । सोही अवधिमा गत आवमा ६५ करोड ९७ लाख ६७ हजार ८१७ रुपैयाँ नाफा कमाएको थियो । जसअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम बैंकको नाफा ५४.२४ प्रतिशतले बढेको हो ।
यो अवधिमा बैंकको वितरणयोग्य नाफा ३३ करोड ८४ लाख ४६ हजार ५२१ रुपैयाँ रहेको छ ।

बैंकको नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा १ अर्ब ६ करोड ५ लाख ५ हजार १०८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत आवको सोही अवधिमा १ अर्ब ५५ करोड ८ लाख ३६ हजार ६३३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
यस्तै सञ्चालन मुनाफा पनि ९४ करोड ४४ लाख ९७ हजार ६०४ रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा १ अर्ब ४४ करोड ७६ लाख ५१ हजार ७१२ रुपैयाँ रहेको छ ।

१३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार ५०४ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ४६ करोड ६५ लाख ४४ हजार ५८ रुपैयाँ रहेको छ । १ खर्ब २४ अर्ब ५० करोड ८४ लाख ४८ हजार ६५४ रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब १३ अर्ब ४४ करोड ७२ लाख ९६ हजार १५७ रुपैयाँ कर्जा लगानी गरेको छ ।

खराब कर्जा १.१४ प्रतिशतबाट बढेर १.३७ प्रतिशत पुगेको बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ११ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ २६ पैसा रहेको छ ।

बैंकको उल्लेखित  विवरण अनुसार पनि हामी आफै बुझ्न सक्छौ कि गत वर्षको तुलनामा अहिले धेरै नै सुधार आएको छ । प्राइम बैंकले अहिले कमाएको यो नाफा बैंकिङ क्षेत्रकै अग्रणी मानीने बैंक  नविल बैंकको हाराहारी हो ।

के भन्छन् त ? बैंकका अधिकारीहरु?  

बैंकका एक अधिकारीले भने यो सफलताका पछाडि खासगरी दुईवटा कारण छन् । पहिलो कारण एक्वीजिशन हो । जसले कारण एकतर्फ सञ्चालन खर्च अत्यान्तै कम भएको छ भने अर्काे पोर्टफोलियोको आकार ठूलो भएसँगै पुँजी वृद्धि भएको, शाखा सञ्जाल बढेको र व्यापार पनि बढेका कारण अधिकांश सूचकहरुमा उल्लेख्य सुधार हुन सकेको हो ।

‘कोभिडको प्रतिकूल अवस्था नभएको भए यी सूचकहरुमा अझ धेरै राम्रो सुधार गर्ने हाम्रो प्रयत्न थियो र हुन्थ्यो पनि ।’ ‘कल निक्षेपमा लगाम लागेपछि बैंकले रणनीति परिवर्तन गर्यो र कारोबारमा अझ सुधार गर्न सक्यो । त्यसैले झण्डै ४८ करोड ब्याज नउठेको, पहिलो त्रैमासमै २५ करोडभन्दा बढी कर्जा नोक्सानी व्यवस्था गरिएपनि अर्बभन्दा बढी नाफा निकाल्न सफल भयो ।’

बैंकले नाफाको योजना छुट्टै ढंगले गरेको छ । बैंकका अनुसार राष्ट्र बैंकले असोजसम्म असूल भएको ब्याजलाई गत असारसम्मको आम्दानी जनाउन पाइने व्यवस्था गरेपनि प्राइम बैंकले साउनसम्मको आम्दानीलाई मात्र असारमा लग्यो । र, बाँकीलाई असोज मसान्ततिर तान्यो ।

‘कर्जाको नोक्सानी ब्यवस्थालाई राष्ट्र बैंकले केही खुकुलो गरिदिए पनि हामीले बैंकले थप नोक्सानी ब्यवस्था गरेका छौं,’ स्रोतले भन्यो, ‘पुसको वित्तीय विवरणमा पनि नाफाको अंकमा निरन्तरता हुने छ ।’

एक्विजिसनबाट पुँजी बढे पनि प्रतिसेयर आम्दानी अझ बढेको देखिएको छ । गत बर्षको यसै अवधिमा प्रतिसेयर आम्दानी २६ थियो भने अहिले सुधार भएर २९ माथि पुगेको छ ।

‘एक्विजिसनको सिनर्जी लाभ हुन गयो र कल निक्षेपको सीमापछि गरिएको रणनीति परिवर्तन एवं बैंकको फरक कर्जा तथा सञ्चालन रणनीतिका कारण पुँजी वृद्धिसँगै प्रतिसेयर आम्दानी पनि वृद्धि हुँदै गएको हो ।’ 

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार १४:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।