Logo

प्रमुख समाचार

भोजपुर सामूहिक हत्या प्रकरण : आरोपीलाई थप उपचारका लागि धरान रेफर



काठमाडौं । भोजपुर जिल्लामा चार जनाको सामूहिक हत्या भएको घटनाका मुख्य आरोपी राजेन्द्र राईलाई थप उपचारका लागि धरान रेफर गरिएको छ । प्रारम्भिक उपचार जिल्ला अस्पताल भोजपुरमा गरिएको भए पनि पेटमा तीन ठाउँमा गम्भीर चोट देखिएपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

शनिबार राति भोजपुरको रामप्रसाद राई गाउँपालिका–२, धोदलेखानीमा भएको घटनामा ६८ वर्षीय बेलबहादुर गिरी, सासु मन्जु गिरी, उनीहरुका १६ वर्षीया छोरी र १० वर्षीय छोराको शव फेला परेको थियो । मृतक पक्राउ परेका राजेन्द्रका सासुससुरा, श्रीमती र साला हुन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार, आरोपी राई आफैंले शनिबार राति सवा १ बजेतिर प्रहरी कन्ट्रोल रुममा फोन गरेर घटनाबारे जानकारी गराएका थिए ।

त्यसपछि उनको खोजीमा अस्थायी प्रहरी चौकी ओख्रेबाट प्रहरी सहायक निरीक्षक अशोक कुमार खवास र जिल्ला प्रहरी कार्यालय भोजपुरबाट हवल्दार नेतृत्वको टोली परिचालित भएको थियो ।

प्रहरीले राईलाई रामप्रसाद राई गाउँपालिका वडा नम्बर १ हर्बुभञ्ज्याङ भन्ने ठाउँमा घाइते अवस्थामा फेला पारेको थियो । प्रहरीका अनुसार, चार जनाको हत्या भएको ठाउँ र राजेन्द्र राई घाइते अवस्थामा फेला परेको ठाउँ करिब ४–५ किलोमिटर दुरीमा पर्छ ।

 

 

प्रकाशित मिति : २२ असार २०८२, आईतवार १२:५८   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।