काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे संसद्मा जानकारी गराएका छन् । राष्ट्रसंघको विकास वित्त सम्बन्धी चौँथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन गएको भ्रमणबारे आजको प्रतिनिधिसभा बैठकमा जानकारी गराएका हुन् ।
असार १४ गते नेपालबाट स्पेन गएका प्रधानमन्त्री ओली असार २० गते नेपाल फर्किएका थिए ।
उनले यो भ्रमणले नेपालको हित, पहिचान र आवाजलाई मुखरित गर्ने काम भएको बताए । बैठकमा समय लिएर प्रधानमन्त्री ओलीले उक्त सम्मेलनले आर्थिक कूटनीतिका लागि विश्वस्तरमा नयाँ साझेदारी वृद्धि गर्दै दिगो विकास लक्ष्यपूर्तिमा थप गति दिन योगदान दिएको बताए ।
सम्मेलनमा प्रधानमन्त्री ओलीले अतिकमविकसित मुलुकका तर्फबाट अगुवाइ गर्दै सम्बोधनका क्रममा यी मुलुकको न्यायपूर्ण एवं आर्थिक सामाजिक विकासका पक्षमा वकालत गरेको जानकारी गराए ।
सेभिया प्रतिबद्धताको कार्यान्वयनबाट ती मुलुकले आफ्नो स्तरोन्नतिका लागि विश्वस्तरको साथ र सहयोग प्राप्त हुने अपेक्षा गर्दै प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नती हुने अवगत गराए ।
प्रधानमन्त्री ओलीले भ्रमणबाट वैदेशिक र राष्ट्रसङ्घसँगको सम्बन्ध सुदृढ हुनुका साथै अतिकम विकसित मुलुकको विकासको पक्षमा पैरवी भएको बताए ।
उनले भने, ‘विकास वित्तसम्बन्धी अपेक्षा, औपचारिक र अनौपचारिक विकास सहयोगका साथै जलवायु वित्तमा पनि सहयोगका लागि आव्हान गरिएको छ । विकास साझेदारीका प्राथमिकताहरु मुखरितका प्रयास गरिएको छ । नेपाल अन्तर्राष्ट्रिय समुदायमा एक जिम्मेवार र सक्षम मुलुक सावित भएको छ । आर्थिक कूटनीतिलाई अगाडि बढाउने र वैदेशिक लगानीवृद्धि हुने अपेक्षा गरिएको छ ।’
सम्मेलनका अवसरमा अति कम विकसित राष्ट्रहरुको समूहको बैठकलाई अध्यक्षतासहित सम्बोधन, विभिन्न साइलाइड वार्ता र गोलमेच सम्मेलनमा आफ्नो नेतृत्व, वकालत प्रतिबद्धताबारे सदनलाई प्रधानमन्त्री ओलीले जानकारी गराए ।




















प्रतिक्रिया