Logo

प्रमुख समाचार

जसपाका फरार नेता यादवको आपत्तिजनक अभिव्यक्ति- नेपालबाट मधेश एक दिन अलग हुनेछ



काठमाडौं । प्रहरीको खोजीमा रहेका जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेश अध्यक्ष अशोक यादवले एकपछि अर्को विवादित अभिव्यक्ति दिइरहेका छन् ।

पक्राउ पूर्जी जारी भएपछि फरार भएका पूर्वसांसद यादवले भिडियो सन्देश सार्वजनिक गर्दै भनेका छन्, ‘मधेश कुनै न कुनै समय अलग हुन्छ । म रहुँ वा नरहुँ ।’

‘जय बिहार, जय नेपाल, जय भारत’ भनेर भिडिओ सन्देश सुरु गरेका यादवले आफूलाई पक्राउ गर्नबाट जोगाउन भारतीय प्रहरी अधिकारीहरुसँग याचना पनि गरेका छन् ।

उनले पहाडिया नश्लवादीहरूले आफूमाथि दमन गरेको भन्दै त्यसविरुद्ध समग्र बिहारबासी आन्दोलनमा उत्रिनुपर्ने तर्क गरेका छन् । यादवले बिहार र मधेशको रोटीबेटीको सम्बन्ध रहेको तर्क गर्दै भारतीयसँग गुहार मागेका हुन् ।

आफूलाई झूटो आरोपमा फसाउने प्रयास भइरहेको आरोप लगाएका उनले भिडिओ सन्देशमार्फत् सर्लाही प्रहरी प्रमुख एवम् एसपी योगेन्द्रकुमार खड्का र डीएसपीसहितका प्रहरी अधिकृतलाई गम्भीर आरोप लगाएका छन् । सर्लाहीका एसपी र डीएसपीले ‘गुण्डागर्दी’ गरेको बताएका उनले राति कार्यालय खोलेर कमिशन उठाउने गरेको आरोप पनि लगाए ।

जसपाका प्रदेश अध्यक्ष यादवविरुद्ध सर्लाही प्रहरीले सातवटा आपराधिक मुद्दा दर्ता जाहेरी लिएको छ । सर्लाहीका प्रहरी प्रमुख खड्कालाई फोन गरेर उनले धम्की र गाली बर्साएका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीले यादवमाथि एउटा चोरी, पाँचवटा अभद्र व्यवहार र एउटा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा अघि बढेको जानकारी दिएको छ ।

यादवले उक्त भिडियोमा यसअघि डा. सीके राउतले मधेश नेपालबाट छुट्टिएर अलग्गै राष्ट्र बन्नुपर्छ भनेर दिएको अभिव्यक्तिको पनि समर्थन गरेका छन् ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार १६:४२   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।