काठमाडौं । चीनतर्फबाट आएको बाढीले ठूलो क्षति पुर्याएको रसुवाको रसुवागढी क्षेत्रको स्थलगत निरीक्षण गर्न अर्थमन्त्री विष्णु पौडेल प्रभावित क्षेत्रतर्फ जाँदैछन् । बाढीपछि उत्पन्न स्थितिको मूल्यांकन गर्न मन्त्री पौडेलसँगै अर्थसचिव घनश्याम उपाध्याय र भन्सार विभागका महानिर्देशक महेश भट्टराई पनि रसुवा प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
बाढी प्रभावित क्षेत्रमा जाने तयारी स्वरूप अर्थ मन्त्रालयले हेलिकोप्टरको व्यवस्था गर्न गृह मन्त्रालयलाई पत्राचार गरिसकेको छ। रसुवामा गएराति बाढी आउँदा कम्तिमा १८ जना बेपत्ता छन्, २ जनाको शव भेटिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले ९ जनाको उद्दार गरेका छन् ।
चीनतर्फ आएको बाढीले रसुवामा क्षति पुर्याएका बेला प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र नेपाल प्रहरीका प्रमुख डीएसपी हेम शाही भने काठमाडौंमा थिए ।
गृह मन्त्रालयले आयोजना गरेको बागमती प्रदेश स्तरीय सुरक्षा गोष्ठीका लागि उनीहरु काठमाडौं आएका थिए । बाढीको खबर आएलगत्तै उनीहरूलाई जिल्लातर्फ फर्कन सहज वातावरण मिलाइएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।




















प्रतिक्रिया