काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो कार्यकालको १ सय दिन पूरा गरेका छन् ।
शाक्यले कार्यकालको सय दिनमा भएका प्रमुख कामबारे जानकारी दिन मंगलबार पत्रकार सम्मेलन गरेका छन् ।
उनले प्रसारण लाइन (क्षमता अभिवृद्धि समेत गरी) तथा सवस्टेशन निर्माणमा क्रमशः १०४ सर्किट कि.मि. र ३६६ एमभीए वृद्धि भई हाल सम्म कुल ६ हजार ७ सय ६९ सर्किट कि.मि को प्रसारण प्रणाली तथा १४ हजार १ सय २९ एमभीए क्षमताको सवस्टेशन निर्माण सम्पन्न भएको जानकारी दिए ।
‘कोशी कोरिडोर अन्तर्गत ढुङ्गेसाघु बसन्तपुर दोस्रो सर्किट निर्माण सम्पन्न गरी चार्ज गरिएको छ,’ उनले भने, ‘प्रसारण लाइन निर्माणमा देखिएको जग्गा प्राप्तिको समस्या समाधानका लागि जग्गाको कित्ताकाट गर्ने प्रावधान गर्न भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मार्फत आवश्यक प्रक्रिया अघि बढाएका छौँ ।’
त्यसैगरी ४३ एमभीए क्षमता बराबरको चार वटा ३३/११ केभी सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको, विभिन्न १२ सामुदायिक संस्थाका करिब ७ हजार ३ सय १५ ग्राहकलाई प्राधिकरणको ग्राहकमा रूपान्तरण गरिएको, करिब ९ सय थान मिटर गरिब तथा विपन्न परिवारलाई निःशुल्क वितरण गरिएको कार्यकारी निर्देशक शाक्यले जानकारी दिए ।
शाक्यका अनुसार काठमाडौं उपत्यकाभित्र नियमित, भरपर्दाे र गुणस्तरीय विद्युत् आपूर्ति व्यवस्था मिलाउन उपत्यकाभित्रका विभिन्न १७ वटा स्विचिङ तथा सबस्टेसनमा जडान भएका फिडर सञ्चालन अवस्था स्युचाटारमा रहेको वितरण नियन्त्रण केन्द्रमार्फत चौबिसै घण्टा अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।
उनले मार्गाधिकार भित्रको जग्गामा सोलार विद्युत तथा अन्य सामूहिक खेती प्रणाली विकाशको अवधारणा अघि बढाएको पनि जानकारी दिए ।
‘त्यसका अतिरिक्त त्यस्ता जग्गा धनीहरूलाई विद्युत प्राधिकरणका आयोजनाहरूमा प्राथमिकताका साथ सेयर दिने व्यवस्थाका लागि पहल गरिएको छ,’ उनले भने, ‘दमौली भरतपुर १३२ के.भी प्रसारण लाइनको विद्युत् शक्ति बहाव गर्ने यस अघिको क्षमता ७० मेवा बाट वृद्धि गरी करिब १३० मेवा बनाउन निजी ऊर्जा उत्पादकहरूले मर्स्याङ्दी तथा दोर्दी करिडोरमा निर्माण गरेको जलविद्युत आयोजनाहरूबाट उत्पादन भएको विद्युत सहज रूपमा राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न लागि उक्त लाइनले महत्त्वपूर्ण भूमिका खेल्ने हुँदा प्राविधिक समस्या समाधान गरी वृद्धि भएको विद्युत बहाव गर्ने क्षमताको रहेको प्राविधिक जटिलताले गर्दा उक्त लाइन पूर्ण क्षमतामा सञ्चालन गर्न सकिएको थिएन ।’
ढल्केवर ४०० के.भी. सवस्टेशनबाट निकालिएको लोहारपट्टी तर्फको दुई वटा १३२ के.भी. लाइन बे मध्ये हाल प्रणालीलाई आवश्यक नरहेको १ वटा लाइन बे लाई ढल्केबरदेखि हेटौडासम्मको निर्माणाधीन ४०० के.भी.को ढल्केबर सवस्टेशन नजिकको ४०० के.भी. टावरमा जोडी त्यहाँबाट निजगढसम्म निर्माण सम्पन्न भएको ४०० के.भी. लाइन मार्फत पुनः नजिकको पथलैया चन्द्रनिगाहापुर १३२ के.भी. डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटमा जोडी पथलैया १३२ के.भी. सवस्टेशनसम्म करिब २०० मेगावाट विद्युत शक्ति प्रसारण गर्ने प्रसारण प्रणालीको निर्माणको लागि कार्य आरम्भ गरिएको पनि जानकारी दिए ।




















प्रतिक्रिया