Logo

प्रमुख समाचार

प्रचण्ड र महिन्द्रबिच यस्तो समझदारी



काठमाडौँ । महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र नेकपा (माओवादी केन्द्र) बिच महाधिवेशनको बेला एकता गर्ने सहमति भएको छ ।

पार्टीबाट आपसी समझदारीमै सहअध्यक्ष गंगानारायण समूह माओवादीमा समाहित भएपछि अध्यक्ष यादवले असार ७ गते पार्टी पुनर्गठन गरेका थिए ।

केन्द्रीय समितिको निर्णयसहित केही दिनअघि यादवले प्रचण्डसँग छलफल गरी पार्टी एकतामा सहमति जुटाएको हो ।

छलफलको क्रममा यादवले एकताका लागि आफू सकारात्मक रहेको स्पष्ट पार्दै उनले पार्टीको नाम, झन्डा, ब्यानर लगायत विषय चाँडै टुंग्याउन आग्रह गरेका थिए ।

प्रचण्डसँगको कुराकानीमा माओवादीको महाधिवेशनसँगै एकताको विषय टुङ्ग्याउने समझदारी भएको यादवले जानकारी दिए ।

‘हामी एकताका लागि तयारै छौँ । सिङ्गै पार्टी एकता गरौँ भनेर जोड दिएको हो । एकताको विषयमा पहिला बाबुरामजीले प्रचण्डजीसँग सहमति गर्नुभयो ।

तर बिचैमा छाडेर भाग्नुभयो । पछि सहअध्यक्ष गंगानारायणजी पनि सहमतिमै माओवादीमा जानुभयो’, उनले भने– ‘केन्द्रीय समिति बैठकले पार्टी पुनर्गठन गर्यो ।

बैठकको निर्णयसहित केही दिनअघि सिंहदरबारमा एकताबारे छलफल भयो । हामीले महाधिवेशनसँगै एकता टुङ्ग्याऊँ भनेका छौँ । यस सम्बन्धमा उहाँ पनि सकारात्मक देखिनुहुन्छ ।

अध्यक्ष यादवले पार्टीको नाम जे राखे पनि महाधिवेशनको निर्णय आफूहरूलाई मान्य हुने बताए ।

जवाफमा प्रचण्डले पार्टीको जागरण अभियान सम्पन्न भए लगत्तै केन्द्रीय समिति बैठक बस्ने र त्यसले महाधिवेशनको मिति तय गर्ने बताएको उनले जानकारी दिए ।

सहमति अनुसार नै पार्टीले सङ्गठन विस्तार गर्ने तर राष्ट्रिय भेला वा महाधिवेशन नगर्ने यादवले स्पष्ट पारे ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार २०:००   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।