Logo

प्रमुख समाचार

आलमलाई सफाइ दिने फैसलाविरुद्ध नै सर्वोच्च जाने महान्यायाधिवक्ताको निर्णय



काठमाडौं । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले कांग्रेस पूर्वसांसद मोहम्मद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने फैसलाविरुद्ध सरकार सर्वोच्च अदालत जाने भएको छ ।

महान्यायाधिवक्ता कार्यालयले पुनरावेदनमा जाने निर्णय गरेको छ । महान्यायाधिवक्ता रमेश बडालले बुधवार पुनरावेदनका लागि हस्ताक्षर गरिसकेका छन् ।

कार्यालयका प्रवक्ता सूर्यराज दाहालले भने, ‘महान्यायाधिवक्ताज्यूले पुनरावेदनको निर्णय गर्नुभएको छ । पुनरावेदनपत्रको मस्यौदा तयार भइरहेको छ र २–३ दिनभित्र सर्वोच्च अदालतमा दर्ता हुनेछ । ’

तल्लो अदालतको फैसला माथिल्लो अदालतबाट उल्टिएमा महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने नीति छ ।

विशेषगरी, यो मुद्दामा प्रमाणको मूल्याङ्कनमा गम्भीर त्रुटि भएको र फैसला विवादास्पद बनेको भन्दै चौतर्फी प्रश्न उठेपछि सर्वोच्च जाने निर्णय भएको हो ।

महान्यायाधिवक्ता कार्यालयले अफताब आलमसहित उच्च अदालतबाट सफाइ पाएका सबै आरोपितलाई दोषी ठहर गर्नुपर्ने र जिल्ला अदालतबाट सफाइ पाएकाहरूलाई पनि दोषी करार गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा पुनरावेदन दायर गर्नेछ ।

गत १४ जेठमा उच्च अदालत वीरगञ्जका न्यायाधीश डा खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले आलमसहितका आरोपितलाई सफाइ दिएको थियो । फैसलाको पूर्णपाठ एक महिनाभित्रै सार्वजनिक भइसकेको छ । उक्त फैसला गर्ने दुवै न्यायाधीशलाई छानबिनका लागि न्यायपरिषद्मा बोलाइएको छ ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार १९:३०   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।