Logo

अर्थ

बजेटसँग समन्वय हुनेगरी मौद्रिक नीति आउनेमा सरोकारवालाको विश्वास



काठमाडौं । बजेटसँग तालमेल हुने गरी मौद्रिक नीति आउनेमा सरोकारवालाहरूले विश्वास व्यक्त गरेका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)द्वारा आयोजित बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रम मा सहभागिहरूले नीति निर्माणमा समन्वयको आवश्यकता औंल्याएका हुन्।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले मौद्रिक नीति पर्याप्त छलफलपछि ल्याउनुपर्नेमा जोड दिँदै यसपटक छिटो सार्वजनिक गर्ने तयारी देखिएको बताए । उनले लोन टु भ्यालु रेसियोमा परिवर्तन हुँदा अटोमोबाइल व्यवसायीहरू असन्तुष्ट देखिएको उल्लेख गर्दै नयाँ नीतिमा चासो बढेको बताए ।

अर्थमन्त्री विष्णु पौडेलले बजेटमार्फत विद्युतीय सवारी साधन (ईभी) प्रवर्द्धन गर्न करमा स्थिरता ल्याइएको बताए। उनले ऊर्जा खपत बढाउने उद्देश्यले ईभीको कर यथावत राखिएको र आगामी वर्षको बजेट कार्यान्वयनमा जोड दिइएको स्पष्ट पारे।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बजेट र मौद्रिक नीतिबीच समन्वय हुनुपर्नेमा जोड दिँदै निजी क्षेत्रका सुझावलाई व्यक्तिगत फाइदाको दृष्टिले हेर्ने प्रवृत्तिले अर्थतन्त्रमा गतिशीलता नआएको बताए।

नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले वित्त नीतिलाई समर्थन गर्नेगरी मौद्रिक नीति आउनुपर्ने धारणा राखे भने नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले रियल इस्टेट क्षेत्रमा स्थायित्वको खाँचो रहेको बताए।

नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन (नाडा) का अध्यक्ष करण चौधरीले युरो ६ लागू गर्दा पर्याप्त समय नदिई सिधा कार्यान्वयन गरिएको भन्दै एकपटकका लागि आयात अनुमति दिनुपर्ने माग राखे।

राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणकर भट्टले मौद्रिक नीतिमा सरोकारवालाका सुझावलाई प्राथमिकता दिइने बताउँदै नीति समावेशी हुने आश्वासन दिए।

कार्यक्रममा नाफिजकी अध्यक्ष मेनुका कार्कीले १ करोड रुपैयाँको सरकारी अनुदानले पत्रकारको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताउँदै ३९ जना नयाँ पत्रकारलाई सदस्यता वितरण गरिएको जानकारी दिइन्।

३ जना पत्रकार पुरस्कृत

३ जना पत्रकारलाई विभिन्न आर्थिक विषयमा योगदान दिएबापत पुरस्कृत गरिएको छ । भारतमोहन अधिकारी सहकारी पत्रकारिता पुरस्कार टक्सार म्यागेजिनका रवि थापा, आर्थिक पत्रकारिता पुरस्कार बिजमान्डुकी सरला सुवेदी, तथा बीमा समाचारतर्फ रेडियो सगरमाथाकी उर्बसी बस्नेतलाई सम्मान गरिएको छ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार १४:३३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।