काठमाडौं । गृह मन्त्रालयले अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४५ जना नयाँ अधिकृतलाई खटाएको ।
गृहमन्त्री रमेश लेखकको सचिवालयले उपलब्ध गराएको विवरण अनुसार अध्यागमन सुधारका क्रममा हालै सेवा थालेका ४५ जना शाखा अधिकृतहरुलाई सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटाइएको हो ।
अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ जना नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएको जानकारी दिए। घिमिरे आजदेखि हाजिर भएका हुन् ।
‘लोकसेवाबाट आएका अधिकृतहरुलाई विभागले तीन दिने तालिम पश्चात आजदेखि विमानस्थल अध्यागमनमा खटाएको छ’, उनले भने । घिमिरेले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत काम गरिसकेका छन् ।
केहीअघि गृह मन्त्रालयले विमानस्थलमा खटिएका ४५ शाखा अधिकृतलाई मन्त्रालय तानेको थियो । त्यसको बदलामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको विवरण अनुसार ४५ अधिकृतलाई खटाइएको गृह मन्त्रीको सचिवालयले जनाएको छ ।
विमानस्थल अध्यागमनमा खटिएका कर्मचारीकै मिलेमतोमा भिजिट भिसाका नाममा मानव तस्करी भएको भन्दै ७ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थलमा छापा मारेको थियो । त्यसबेला तत्कालीन अध्यागमन प्रमुख तीर्थराज भट्टराई समेत पक्राउ परेका थिए । अझै त्यो मामिलामा आयोगले छानबिन गरिरहेको छ ।
सरकारले समेत छानबिनका लागि पूर्वसचिव शंकरदास वैरागीको नेतृत्वमा समिति बनाएको छ ।




















प्रतिक्रिया