संघीय सरकारले पाँच वर्षअघि दुई वर्षभित्र सबै पालिकामा आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने घोषणासहित शिलान्यास गरेको थियो । यही क्रममा ताप्लेजुङका स्थानीय तहहरूमा पनि ५, १० र १५ शय्याका आधारभूत अस्पताल बनाउने योजनासहित शिलान्यास गरिएका थिए ।
तर, त्यतिवेला शिलान्यास गरिएका अधिकांश अस्पताल पाँच वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन।
अस्पताल नभएका स्थानीय तहहरूमा दुई वर्षभित्र भवन निर्माण गरिसक्ने लक्ष्यका साथ १५ मंसिर ०७७ मा देशभरका ३९३ आधारभूत अस्पतालको तत्कालीन प्रधानमन्त्री केपी ओलीले एकैपटक शिलान्यास गरेका थिए।
फक्ताङलुङ गाउँपालिकामा भने आधारभूत अस्पताल नबन्ने पक्का भएको छ । अस्पतालको लागि नौ रोपनी जग्गा छुट्टाएको भए पनि अहिलेसम्म अस्पताल निर्माणमा कुनै पनि प्रक्रिया अघि नबढेको गाउँपालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले बताए ।
आधारभूत अस्पताल निर्माणका लागि सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णय, जिल्ला समन्वय समितिको सिफारिस आवश्यक पर्छ । जग्गाको लालपुर्जा (पाँच शय्याका लागि ५.६ रोपनी तथा १० र १५ शय्याको लागि भने ७.२ रोपनी जग्गा) अनिवार्य रूपमा हुनुपर्छ ।
त्यसपछि अस्पतालको डिपिआर तयार गरेर मन्त्रालयमा पेस गर्नुपर्छ । यस्तो प्रारम्भिक रिपोर्ट मन्त्रालयले स्वीकृत गरेपछि मात्रै बजेट निकासा हुने मापदण्ड छ । सिदिङ्वा गाउँपालिकामा पनि जग्गा विवादका कारण अस्पताल निर्माण रद्द भएको छ ।
जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा निर्माण हुन थालेको १० शय्याको अस्पताल निर्माण अझै जारी छ । १० करोड ५७ लाख लागतमा सुरु भएको अस्पताल गत अर्थिक वर्षमा नै निर्माण सक्नुपर्ने भए पनि अहिले म्याद थप गरेर पुस सम्ममा निर्माण सकिने गाउँपालिकाका इन्जिनियर जीवन भण्डारीले जानकारी दिए।
संघीय सरकारको बजेटबाट अस्पताल निर्माण हुने भए पनि सम्झौता, अनुगमन र नियमनको सबै काम स्थानीय तहले नै गरिरहेका छन् । उता, माैवाखोला गाउँपालिकाको १५ शय्याको अस्पताल निर्माण भइरहेको छ । माैवाखोला गाउँपालिकाको १५ शय्याको भवन निर्माण पनि भइरहेको अध्यक्ष विजयप्रकाश बनेमले बताए।




















प्रतिक्रिया