Logo

अर्थ

बजेट अनुशासन सुदृढ गर्न अर्थ मन्त्रालयद्वारा कार्यदल गठन



काठमाडौं । अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्ने कानुन निर्माणका लागि कार्यदल गठन गरेको छ । कार्यदलमा अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख महेश बराल संयोजक रहेका छन् ।

कार्यदलमा सदस्यका रूपमा बजेट महाशाखाका उपसचिव, कानून तथा फैसला महाशाखाका उपसचिव तथा विषय विज्ञका रूपमा पूर्व सहसचिव निर्मलहरी अधिकारी रहेका छन् । कार्यदलको सदस्य–सचिवमा वित्तीय संघीयता महाशाखाका उपसचिव रहेका छन् ।

बजेट वक्तव्यको बुँदा नं. ३५९ र ३७१ मा बजेट अनुशासनलाई सुदृढ गर्दै सार्वजनिक वित्तको प्रभावकारिता अभिवृद्धि गर्ने, संघीय सञ्चित कोषको सन्तुलन कायम राख्ने र तीनै तहमा लागू हुने सार्वजनिक खर्च मापदण्ड तयार गर्ने उल्लेख छ ।

यस्तै, सार्वजनिक ऋणको उत्पादनशील उपयोग र दिगोपन सुनिश्चित गर्ने र राष्ट्रिय वित्त व्यवस्थापन सुधार रणनीति कार्यान्वयन गर्ने योजनासमेत बजेटमा समेटिएको छ ।

संविधानको धारा ५९ अनुसार संघ, प्रदेश र स्थानीय तहको बजेट घाटा व्यवस्थापन तथा अन्य वित्तीय अनुशासन सम्बन्धी व्यवस्था संघीय कानून बमोजिम हुने प्रावधान रहेको छ । उक्त संवैधानिक तथा बजेटीय व्यवस्थालाई मूर्तरूप दिन कार्यदल गठन गरिएको अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार १६:५३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।