अमेरिकी प्रतिनिधिसभाको विदेश मामिला समितिले सार्वजनिक गरेको विवरणअनुसार सन् २०२५ डिसेम्बरदेखि २०२६ मेसम्मको अवधिमा अमेरिकी वाणिज्य मन्त्रालयले एनभिडिया र एएमडीका कुल ८ लाख ७९ हजार एआई चिप चीन निर्यात गर्न स्वीकृति दिएको हो ।
समितिका अनुसार चिनियाँ प्रविधि कम्पनी अलिबाबाका लागि ७५ हजार, टेन्सेन्टका लागि १ लाख ५० हजार, बाइडुका लागि ४३ हजार र बीवाईडीका लागि ४ हजार चिप निर्यात गर्न अनुमति दिइएको थियो । तर, ती कम्पनीहरूले सोही अवधिमा चीनमा ३४ लाख चिप भित्र्याउन अनुमति मागेका थिए ।
अमेरिकाले चीनलाई उन्नत प्रविधिमा पहुँच दिनु राष्ट्रिय सुरक्षाका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै यसअघि निर्यात नियन्त्रणमा कडाइ गर्दै आएको थियो । यस्तो अवस्थामा ठूलो संख्यामा एआई चिप निर्यात गर्न अनुमति दिइएको विवरण सार्वजनिक भएपछि ट्रम्प प्रशासनको निर्णयमाथि प्रश्न उठ्न थालेको छ ।
प्रतिवेदनमा उल्लेख गरिएका चारवटै चिनियाँ कम्पनी अमेरिकी रक्षा मन्त्रालयले चिनियाँ सेनासँग सम्बन्धित हुन सक्ने आशंका गरेका कम्पनीहरूको सूचीमा छन् । समितिका अध्यक्ष ब्रायन मास्टले निर्यात नियन्त्रण सुधार ऐनअन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै चिप निर्यात अनुमतिसम्बन्धी विवरण सार्वजनिक गरेका हुन् ।
अनुमति दिइएका चिपमध्ये एनभिडियाको एच२०० र एएमडीको एमआई३२५एक्स रहेका छन् । यद्यपि, स्वीकृति प्राप्तमध्ये कति चिप वास्तवमै चीन पठाइए भन्ने यकिन भइसकेको छैन ।
चीनलाई चिप निर्यात गर्ने विषयमा पछिल्लो समय एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत जेन्सन हुआङसँग जोडिएको कथित चिनियाँ जासुसी सम्बन्धको विषयले पनि चर्चा पाएको छ । यससँगै चीनमा अमेरिकी एआई चिप तस्करी भइरहेको र त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम नचालिएको भन्दै ट्रम्प प्रशासनमाथि दबाब बढेको छ ।
अमेरिकी अधिकारी तथा अमेरिका–चीन प्रविधि प्रतिस्पर्धाका जानकार क्रिस म्याकग्वायरले चीन पठाइएका एआई चिपमध्ये ३० प्रतिशतभन्दा बढी अमेरिकी रक्षा मन्त्रालयले चिनियाँ सैन्य कम्पनीका रूपमा सूचीकृत गरेका संस्थामा पुगेको विषयलाई आश्चर्यजनक बताएका छन् ।
उनले निर्यात अनुमति दिनुअघि वाणिज्य मन्त्रालयले राष्ट्रिय सुरक्षा जोखिमको पर्याप्त मूल्यांकन गरेको थियो कि थिएन भन्ने प्रश्नसमेत उठाएका छन् ।
एनभिडियाले भने निर्यात अनुमति कडा सर्त र सीमित परिमाणका आधारमा दिइएको जनाएको छ । कम्पनीका अनुसार केही अनुमति प्राप्त भए पनि चीनमा एच२०० चिप पठाउन भने बन्द गरिसकिएको छ । एएमडीले यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
यसअघि तत्कालीन राष्ट्रपति जो बाइडेन प्रशासनले चीनको सैन्य क्षमता विस्तार हुन सक्ने र एआई प्रविधिमा अमेरिकी अग्रता कमजोर पर्ने जोखिम औँल्याउँदै अत्याधुनिक चिप निर्यातमा प्रतिबन्धात्मक व्यवस्था लागू गरेको थियो ।
तर, ट्रम्पले गत डिसेम्बरमा एनभिडियालाई एच२०० चिप चीन निर्यात गर्न अनुमति दिएपछि बाइडेन प्रशासनको नीतिमा परिवर्तन आएको थियो । उक्त निर्णयको अमेरिकाभित्रै चीनप्रति कडा नीति अपनाउनुपर्ने पक्षधरहरूले आलोचना गरेका थिए ।
यसैबीच, चिप निर्यातसम्बन्धी विवरण सार्वजनिक भएपछि अमेरिकी सेयर बजारमा प्रविधि कम्पनीहरूको सेयर मूल्यमा गिरावट आएको छ । एनभिडियाको सेयर मूल्य ३.३ प्रतिशत र एएमडीको ७.७ प्रतिशतले घटेको छ । प्रविधि कम्पनीहरूको बाहुल्य रहेको नास्डाक परिसूचक २.२ प्रतिशत तथा एसएन्डपी ५०० परिसूचक १.८ प्रतिशतले ओरालो लागेको छ ।




















प्रतिक्रिया