काठमाडौं । २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको लागि पोखरा महानगरपालिका प्रवर्धकका रूपमा रहने भएको छ । आगामी भदौ २९ गते पोखरामा पहिलोपटक अवार्ड कार्यक्रम आयोजना हुँदै छ ।
बुधबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र पोखरा महानगरपालिकाबीच अवार्ड प्रवर्धनका लागि सम्झौता भयो । सम्झौतापत्रमा मञ्चका तर्फबाट अध्यक्ष निरञ्जन अधिकारी र महानगरपालिकाका तर्फबाट मेयर धनराज आचार्यले हस्ताक्षर गरे ।
पोखरा भ्रमण वर्ष २०२५ को अवसर पारेर पोखरा इभेन्ट सेन्टरमा हुन लागेको अवार्डलाई महानगरपालिकाले आर्थिक तथा नैतिक सहयोग गर्ने मेयर आचार्यले बताए ।
NIC Asia Banner ad
उनले भने, “पोखरा देशका ठूला अन्तर्राष्ट्रिय कार्यक्रमका लागि योग्य सहर हो । देशको प्रतिष्ठित खेलकुद अवार्ड पोखरामा आयोजना हुँदा यसले पोखराको गरिमा र यहाँको खेलकुद क्षेत्रको परिचयलाई थप बलियो बनाउने मलाई विश्वास छ । यसमा महानगरपालिकाको आर्थिक र नैतिक सहयोग रहनेछ ।”
पर्यटनको राजधानी पोखरामा प्रत्येक साता ठूला इभेन्टहरू हुने गरेको बताउँदै मेयर आचार्यले पोखरालाई खेलकुद पर्यटनको पनि राजधानी बनाउने अभियानमा लागेको बताए ।
त्यस्तै, मञ्चका अध्यक्ष अधिकारीले काठमाडौं बाहिर अवार्ड समारोह गर्नु निकै चुनौतीपूर्ण रहेको बताए । तथापि, अवार्डलाई देशव्यापी रूपमा आयोजना गर्ने उदेश्यले चुनौती स्वीकार गरेको स्पष्ट पारे ।
उनले महानगरपालिकाको साथका कारण अवार्ड कार्यक्रम पोखरामा ल्याउन सफल भएको पनि बताए । अध्यक्ष अधिकारीले भने, “यो वर्ष पोखरा भ्रमण पनि भएकोले त्यस अभियानमा अवार्डले थप सहयोग पुर्याउन सक्नेछ ।” अवार्डलाई प्रवर्द्धकको रूपमा साथ दिएकोमा उनले महानगरपालिकाका मेयर आचार्य र महानगरपालिका परिवार तथा सम्पूर्ण पोखरावासीप्रति धन्यवाद ज्ञापन गरे ।
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड विश्वभरका खेल पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआईपीएस) र एसियाली खेलुकद पत्रकार महासंघ (एआईपीएस एसिया)को नियमित क्यालेन्डर इभेन्ट हो ।
यसैगरी एनएसजेएफ गण्डकीका अध्यक्ष एमबी आस्थाले अन्तर्राष्ट्रियस्तरको अवार्ड पोखरामा हुनुलाई आफूहरूले निकै उत्साहका साथ लिएको बताए ।
अवार्डमा विभिन्न १० विधामा खेलाडी तथा खेलकर्मी पुरस्कृत हुनेछन् । अवार्डमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा वर्षको उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, टिम अफ दी इयर, स्पेशल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्डका विधा समावेश छन् ।
उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले जनही पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् भने अन्य विधाका विजेतालाई नगद एक लाख रुपैयाँको दरले पुरस्कृत गरिने मञ्चका महासचिव अञ्जन खड्काले जानकारी गराए ।



















प्रतिक्रिया