Logo

पत्रपत्रिका

गोलाप्रथाबाटै न्यायाधीश तोक्न सर्वोच्च बारको सुझाव



बार एसोसिएसनले संवैधानिक इजलासमा न्यायाधीश तोक्दा गोलाप्रथाबाट तोक्नुपर्ने सुझाव दिएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई आइतबार भेटेर सर्वोच्च बारले यस्तो सुझाव दिएको हो । ‘हामीले संवैधानिकको नेतृत्व प्रधानन्यायाधीशले गरिहाल्नुहुन्छ ।

बाँकी चारजनाका लागि न्यायपरिषद्ले बनाएको रोस्टरका न्यायाधीशबिच गोलाप्रथा हुनुपर्ने सुझाव दिएका छौँ,’ सर्वोच्च बारका एक पदाधिकारीले भने ।

सबै अदालत तथा इजलास गोला प्रणालीमा गइसकेकाले सर्वोच्च बारले यस्तो माग गरेको जनाएको छ । सर्वोच्च बारका ती पदाधिकारीका अनुसार वरिष्ठ मात्र भए भने विविधता नहुने तथा इजलासका फैसलामाथि पनि प्रश्न उठेकाले यस्तो माग गरिएको हो ।

फरक विज्ञता भएका न्यायाधीशको राय पनि फरक हुने, सबै न्यायाधीशले संवैधानिक विवादमा आफ्नो फैसला दिन पाउने भन्दै सर्वोच्च बारबाट यस्तो माग भएको उनले बताए ।

न्यायपरिषद्ले वरिष्ठताका आधारमा नौजनाको रोस्टर बनाएको छ । जसमा सबै वरिष्ठ न्यायाधीशहरूको नाम क्रमशः छ । पछिल्लोपटक तत्कालीन सरकारले दुईपटक अध्यादेश ल्याई गरेका ५२ संवैधानिक पदाधिकारी नियुक्तिको विषयमा दिएको निर्णयपछि संवैधानिक इजलासको औचित्य र फैसलामाथि प्रश्न उठेको छ ।

अमुक दलनिकट न्यायाधीश भएको र फैसलमा पनि त्यो प्रतिबिम्बित हुने गरेको आरोप न्यायालयमाथि छ । यसैगरी, रिट र पुनरावेदन दर्तामा पनि ढिलासुस्ती र कठिनाइ भइरहेको भन्दै यसलाई सहज बनाउन माग गरिएको छ।

सर्वोच्च बारले दर्ता गराउन आएका कानुन व्यवसायी वा निवेदकलाई टाइम कार्ड दिँदै २४ घण्टाभित्र दर्ता वा दरपिठको सूचना दिनुपर्ने माग गरेको हो । हाल हप्तासम्म पनि दर्ता नगरिदिने र निवेदनउपर कुनै निर्णय नगरिदिने प्रवृत्ति हटाउन यस्तो माग गरिएको बारको भनाइ छ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार ०७:४०   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।