Logo

समाचार

पाँचखालमा प्रस्तावित एस्फाल्ट प्लान्टको सडकदेखि सदनसम्म चर्को विरोध‍



काभ्रेपलाञ्चाेक‍ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा बन्ने तयारीमा रहेको एस्फाल्ट प्लान्टविरुद्ध स्थानीयबासी र जनप्रतिनिधिहरूले चर्को विरोध जनाएका छन् । वातावरणीय प्रदूषण मूल्यांकन नै नगरी मन्दिरको छेउमा यस्तो प्लान्ट स्थापना गर्नु गलत भएको उनीहरूको भनाइ छ ।

गत आइतबार आयोजित सार्वजनिक सुनुवाइमा अधिकांश स्थानीयले स्पष्ट रूपमा प्लान्ट नबनाउने अडान राखे । उनीहरूका अनुसार यसले वातावरणीय प्रदूषण, सांस्कृतिक सम्पदामा असर र स्थानीय बस्तीमा स्वास्थ्य जोखिम निम्त्याउनेछ । एमाले र माओवादीका स्थानीय नेताहरूले समेत यसको विरोध गरेका छन् । कांग्रेसकै केही स्थानीय नेता पनि यसको विपक्षमा उभिएका छन्।

विरोध केवल स्थानीयस्तरमा सीमित छैन । मंगलबारको प्रतिनिधिसभामा सांसद मीना तामाङले यो विषय संसदसम्म उठाउँदै, लिच्छविकालीन स्वर्णेश्वर महादेव मन्दिर र त्यस वरपरको बस्तीमा प्रभाव पर्ने गरी प्लान्ट निर्माण कानुनविपरीत भएको बताइन् । सांसद लामाले भनिन्, ‘प्रदूषणजन्य उद्योग सञ्चालन गर्न दिएको अनुमति कानुनविपरीत छ, उक्त एस्फाल्ट उद्योग सञ्चालन अनुमति नदिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै पाँचखालवासी जनसमुदायको जीवनरक्षाको माग गर्दै स्थानीय सरकार पाँचखाल नगरपालिकाबाट गरिएको निर्णय फिर्ता लिन आग्रह गर्दछु ।’

प्रस्तावित प्लान्ट वडा नं. ८ र ९ को सीमामा रहेको स्वर्णेश्वर महादेव मन्दिरको नजिकै निर्माण हुन लागेको हो। यो मन्दिर लिच्छविकालीन इतिहास बोकेको धार्मिक र सांस्कृतिक सम्पदा मानिन्छ। मन्दिरसँगै रहेका पुराना बस्तीमा प्रदूषणको असर पर्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन्।

बन्दन भगवती निर्माण प्रालिले सो प्लान्ट बनाउन लागेको हो । सो कम्पनीका सञ्चालक मुकेश पन्तको पाँचखालका मेयर महेश खरेलसँग निकटता भएकाले नियम मिचेर प्लान्ट स्थापना गर्न दिइएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । सार्वजनिक सुनुवाइमा स्थानीयहरूले यस्तो प्लान्ट नभई पाँचखालमा कृषिजन्य उत्पादनको प्रशोधनको उद्योग आवश्यकता भएको बताएका छन्।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार १६:३७   :  बजे

312
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।