काठमाडौं। अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले स्थापना कालदेखि हरेक बर्ष गर्दै आएको ‘नाडा अटो शो’ असफल पार्न १५ दिन अघिनै अर्थात् आजदेखि सुरु गरिएको ‘नाईमा अटो शो २०२५’ उद्घाटनकै दिन सुनसान देखिएको छ।
नेपालकै पहिलो भन्दै उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल ल्याएर उद्घाटन गरिएको नाईमा अटो शो को पहिलो दिनमै अवलोकनकर्ताको सहभागीता अत्यन्तै न्युन भएपछि स्टल राख्ने व्यापारीका साथै आयोजक समेत चिन्तित बनेका छन्म
नेतृत्व नपाएको झोकमा नाडा फुटाएर आँफै अध्यक्ष बनेकी रितु सिंह बैध समूहले झन्डै करिब ६ महिनादेखि व्यापक प्रचार–प्रसार गरेको ‘नाईमा अटो शो’ को पहिलो दिन नै शोमा न त किन्ने ग्राहक देखिए, न दर्शक। शो मा महँगो मूल्य तिरेर राखिएक्जो स्टलहरूमा गाडीहरू त छँदैछन्, तर हेर्ने दर्शक र किन्ने ग्राहक भने देखिएनन्। जसका कारण लगानी समेत नउठ्ने भएपछि व्यापारीहरु चिन्तित बनेका छन्।
कार्यक्रमको महत्वपूर्ण व्यवस्थापन पक्ष झुर देखिएको छ। पत्रकार सम्मेलनमा प्रचारप्रसार गरिएअनुसार नत पार्किङ पर्याप्तता छ न त सुविधा। एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने भनिएको अटो शो मा आयोजक कर्मचारी, ब्यापारी, व्यवसायिक पार्टनर, प्रचारप्रसार गर्न अर्धनग्न पोशाकमा उभ्याइएका महिला तथा रमाइलो हेर्न जाने केहि दर्शकबाहेक कोहि देखिएनन्।
उक्त अटो शो मा प्रवेश गर्ने केहि युवा गाडीमा भन्दा अर्धनग्न बनाइएका मोडलहरूसँग तस्बिर खिचाउँदै गरेका देखिन्थे भने केहिले हरेक गाडीको मूल्य, फिचर, सेक्युरिटी ग्यारेन्टी सोधेर समय बिताइरहेका थिए । अपवादबाहेक शो मा जाने कोहि पनि खरिद गर्ने मनस्थितिमा देखिँदैन थिए। शो मा गाडी किन्ने कम ‘फोटो सेसन’का लागि आउने बढी देखेर स्टलमा बसेका प्रतिनिधिहरू आफैं हतोत्साहित देखिएका थिए। साथै, सजिएका स्टलहरूमा उभिएका ब्रान्ड प्रतिनिधिहरूमा समेत उत्त्सुकता थिएन, मोबाइल हेर्दै टोलाईरहेका देखिन्थे।
अध्यक्ष बन्न नपाएको झोकमा नाडा फुटाएर नेतृत्व असफल पार्न छुट्टै संस्था खोलेका धनाड्यहरु यो अटो शो पछि पूर्णत: असफल देखिए। विगत ६ महिनादेखि ठुलो रकम खर्चेर सामाजिक सञ्जाल, विज्ञापन र कर्पोरेट कनेक्शनमार्फत गराइएको प्रचारको ठूला-ठूला दाबी सुरुवातकै दिन देखि असफल भएको छ।
ठुलो घराना, ५० भन्दा बढी अटोमोबाइल ब्रान्डको सहभागिता, ३५ नयाँ सवारीसाधन सार्वजनिक,अत्याधुनिक प्रविधियुक्त सवारीसाधन कम मूल्यमा उपलब्ध गराउने उद्देश्य बताईएको भए पनि यसको व्यवस्थापन पक्ष निकै कमजोर हुँदा नाईमाले पहिलो दिनको शोमै बजार र ग्राहक दुवै गुमाएको व्यवसायीहरु बताउँछन् । उद्योग क्षेत्रका धेरै व्यवसायीहरूले निजी रूपमा नै यो शोको बहिष्कार गरेका छन् भने केही सहभागी ब्रान्डहरूले पनि पहिलो दिनमै शोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
नाडा फुटाएकोप्रति असन्तुष्ट बनेका केहि व्यवसायीहरुले ‘हामी नयाँ ढंगको शो ल्याउँछौं’भन्ने गरेको बिषयलाई स्मरण गर्दै यस शो को सुरुवाती प्रदर्शनपछि ‘धनी आयोजक’ को ‘गरिब शो’ को उपाधि दिएका छन्।
नाईमा अटो शो मा सहभागी एक ब्राण्डका प्रतिनिधी आँफैले अनौपचारिक कुराकानी गर्दै भनेका छन्, – हामी त गाडी बेच्न आएका हौं, तर किन्ने कोही छैन। आएका पनि फोटो खिच्ने मात्रै छन्। स्टलको भाडा समेत उठ्दैन कि भन्ने चिन्ता छ।’ अटो शो का लागि जति प्रचारप्रसार गरियो पहिलो दिनको अवस्था हेर्दा ‘नाईमा अटो शो २०२५ ‘ पूर्णरुपमा असफल भएको उनको दावी छ



















प्रतिक्रिया