Logo

अर्थ

चन्द्रागिरी भालेश्वर मन्दिरमा महाआरती हुँदै, केवलकार टिकट ४०० रुपैयाँ मात्र



काठमाडौ‌ं । भोलि २६ गते साउने अन्तिम सोमबारको अवसरमा चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा विशेष भक्तिमय उत्सव तथा महाआरती आयोजना हुने भएको छ । साउन महिनाको पवित्रतासँगै महादेवको महिमा झल्काउने उद्देश्यले चन्द्रागिरी हिल्स लिमिटेडले उक्त भक्तिमय उत्सव तथा महाआरती आयोजना गर्न लागेको जनाएको छ ।

कार्यक्रम अन्तर्गत पूरै दिन मन्दिर परिसरमा भक्तिमय वातावरणमा विशेष भजन–कीर्तन सञ्चालन हुनेछ । साँझ ६ः३० बजेपछि विशेष महाआरती सम्पन्न हुनेछ, जसमा भक्तजनहरूलाई सहभागी हुन आमन्त्रण गरिएको छ ।

चन्द्रागिरी हिल्सले महाआरतीमा सहभागी हुन आउने भक्तजनहरूको सुविधालाई मध्यनजर गर्दै विशेष टिकट अफर सार्वजनिक गरेको छ । सो अवसरमा केबलकार टिकटमा सोमबार दिइने २५ प्रतिशत छुटका साथै साँझ ४ बजेपछि टिकट मात्र ४०० मा उपलब्ध हुने जनाएको छ ।

यसअघि साउन महिनाका तीनवटै सोमबार चन्द्रागिरी भालेश्वर मन्दिर परिसरमा विशेष कार्यक्रम तथा महाआरती सम्पन्न भइसकेको छ । भक्तजनहरूको उत्साहजनक सहभागिता भएकाले भक्ति तथा श्रद्धा अझै गरिमामय बनाउने उद्देश्यले अन्तिम सोमबारको दिनलाई विशेष भक्तिमय उत्सवका रूपमा मनाउन लागिएको चन्द्रागिरी हिल्सले जनाएको छ ।

 

प्रकाशित मिति : २५ श्रावण २०८२, आईतवार १४:२०   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।