विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, जलुवा टोलमा सोमबार बिहान यात्रुवाहक बस र विंगर माइक्रो ठोक्किँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
दुर्घटना बिहान ७:१५ बजे भएको हो । मृतकमध्ये सप्तरी मधावेका ३५ वर्षीय शंकर मण्डल, तिरहुतकी ६० वर्षीया अनारवतीदेवी यादव, गोइठीका ६८ वर्षीय जिवछ महात्मा, सुनसरीको कोसी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा र विराटनगर–१० का ४० वर्षीय अशोक यादव रहेका छन् ।
प्रहरीका अनुसार शंकर, लक्ष्मण र अशोकको मृत्यु ग्लोबल कार्डियो एन्ड न्यूरो अस्पताल भोक्राहामा, अनारवतीको जिल्ला अस्पताल इनरुवामा र जिवछको मृत्यु विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा भएको हो ।
दुर्घटनामा २८ जना घाइते भएका थिए । पाँचजनाको मृत्यु भइसकेको छ भने तीनजना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । बाँकी २० जनाको उपचार भोक्राहाको ग्लोबल कार्डियो एन्ड न्यूरो अस्पताल र विराटनगरको गोल्डेन अस्पतालमा भइरहेको छ ।
मृतक सबै विंगर माइक्रोमा सवार थिए । झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेल जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र सप्तरीबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रो एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । बस चालक गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।




















प्रतिक्रिया