Logo

अन्तर्राष्ट्रिय

युक्रेनलाई बाहिर राखेर पुटिनसँग सम्झौता नगर्न ट्रम्पलाई युरोपेली नेताहरूको आग्रह



युरोपेली नेताहरूले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अलास्कामा रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको प्रत्यक्ष भेटमा युक्रेनको सहभागिताबिना एकतर्फी शान्ति सम्झौता नगर्न आग्रह गरेका छन् ।

जर्मन चान्सलर फ्रेडरिक मर्जले ट्रम्प, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अन्य युरोपेली नेताहरूसँग भर्चुअल शिखर सम्मेलनको आयोजना गरेका थिए । यो बैठक पुटिनले ट्रम्पलाई युद्धलाई आफ्नो दृष्टिकोणबाट हेर्न मनाउने प्रयास गर्नेछन् भन्ने बढ्दो चिन्ताका बीच भएको हो ।

बैठकपछि, फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंले ट्रम्प धेरै स्पष्ट भएको बताए । वाशिङ्टनले युद्धविराम चाहेको र जेलेन्स्कीको सहभागिताबिना युक्रेनको क्षेत्रीय मुद्दाहरूमा वार्ता गर्न नसकिने उल्लेख गरे ।

ट्रम्पले पत्रकारहरूलाई पुटिनसँगको उनको शिखर सम्मेलन राम्रोसँग सम्पन्न भए रुसी राष्ट्रपति र जेलेन्स्कीबीच तुरुन्तै अर्को बैठक हुनसक्ने बताए । उनले पहिलो बैठकमा हामी कहाँ छौँ र के गर्दैछौँ भन्ने पत्ता लगाउने र दोस्रो बैठक हुने सम्भावना धेरै भएको बताए ।

भर्चुअल बैठकबारे जानकार दुई युरोपेली कुटनीतिज्ञले कुराकानीका क्रममा ट्रम्पले पुटिनसँगको भेटमा बिनासर्त युद्धविरामको लागि जोड दिने बताएको सीएनएनलाई जनाएको छ ।

ट्रम्पले युद्धविराम रूसबाट सद्भावको प्रदर्शन हुने विश्वास व्यक्त गरे । साथै युक्रेनी भूमिको विषयमा उनले वार्ता गर्ने विषय नभएको पनि बताए ।

युक्रेन, फ्रान्स, जर्मनी, इटाली, पोल्यान्ड, फिनल्यान्ड, नेटो र युरोपेली संघका नेताहरूले ट्रम्पसँगको भर्चुअल बैठकमा भाग लिएका थिए ।

बैठकपछि जेलेन्स्कीले नेताहरूले अलास्कामा हुने वार्ताको ढाँचा निर्धारण गर्न पाँच साझा सिद्धान्तहरूमा सहमति जनाएको बताए । जसमा युद्धविराम र विश्वसनीय सुरक्षा ‘ग्यारेन्टी’मा ध्यान केन्द्रित गरिएको उनको भनाइ छ । सीएनएन

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार ०८:४०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।