Logo

प्रमुख समाचार

बागमती सरकारले पायो पूर्णता, कांग्रेसका पाँच मन्त्री थपिए



हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज (शुक्रबार) कांग्रेसका पाँच मन्त्री थप गर्दै १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरी सरकारलाई पूर्णता दिएका छन् ।

मुख्यमन्त्री बानियाँले सामाजिक विकासमा कञ्चनचन्द्र बादे (काभ्रे), आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रभात तामाङ (रसुवा), युवा तथा खेलकुदमा उर्मिला केसी नेपाल (ललितपुर), संस्कृति तथा पर्यटनमा सुरेश श्रेष्ठ (भक्तपुर) र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बिनु रायमाझी पौडेल (चितवन) लाई नियुक्त गरेका हुन् ।

यसअघि २० साउनमा कांग्रेसबाट कृष्ण तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ र शिवराज अधिकारीलाई विना विभागीय मन्त्री नियुक्त गरिएको थियो। पछिल्लो भागबण्डाअनुसार अधिकारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाएका छन् ।

एमालेबाट मधुसुदन पौंडेल (कृषि), डा. दिनेशचन्द्र देवकोटा (पूर्वाधार), भरत केसी (वन), जयरथ थापा (श्रम) र बिन्दु श्रेष्ठ (उद्योग) मन्त्री भइसकेका छन् ।

हालको सत्ता गठबन्धनमा कांग्रेस र एमालेले बराबर ६–६ मन्त्रालय लिएका छन् । पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाले संस्कृति तथा पर्यटन र सामाजिक विकास फुटाएर सहकारी तथा गरिबी निवारण मन्त्रालय खडा गरेपछि मन्त्रालय संख्या १४ पुगेको हो ।

तर कांग्रेसभित्र सरकार विस्तारलाई लिएर विवाद चर्किएको छ । निवर्तमान मुख्यमन्त्री लामा पक्षले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री बनाउनुपर्ने माग राखे पनि बानियाँले उनीहरूलाई नियुक्त गरेनन् । यसले पार्टीभित्रको असन्तुष्टि बढाएको छ ।

१४ साउनमा लामा पक्षले मन्त्री बनाउन नसकिएको भन्दै असन्तोष जनाए पनि २७ साउनमा विश्वासको मत दिएका थिए ।

इन्द्रबहादुर बानियाँले ९ साउनमा लामा नेतृत्वको सरकारविरुद्ध २१ सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरेका थिए । त्यसपछि १३ साउनमा भएको मतविभाजनमा लामा अल्पमतमा परेपछि मुख्यमन्त्रीबाट बाहिरिएका थिए । बानियाँ १४ साउनमा संसदीय दलको नेता बनेपछि २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार १५:५१   :  बजे

231
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।