Logo

सुरक्षा / अपराध

छुट्टाछुट्टै स्थानमा अवैध लागूऔषध सहित पक्राउ



बाजुरा जिल्लाको हिमाली गाउँपालिका-६ धुलाचौरस्थित सडकबाट करिब ४ सय ग्राम चरेश जस्तो देखिने कालो पदार्थ सहित सोही ठाउँस्थित धिम बस्ने ३५ वर्षीया चिनकला रोकायालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धुलाचौरबाट खटिएको प्रहरीले से.१ च १५१० नम्बरको जीप जाँच गर्ने क्रममा जिपमा सवार रोकायाको साथबाट उक्त परिमाणको अवैध लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

 त्यस्तै सुर्खेतको बीरेन्द्रनगर नगरपालिका-१० स्थित रोयल रारा होटेलको २०५ नम्बर कोठाबाट ४० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने १९ वर्षीय रमेश बुढा, सोही नगरपालिका-८ बस्ने १९ वर्षीया रेखा बिष्ट र कालिकोट शुभकालिका गाउँपालिका-६ घर भएका २४ वर्षीय दुर्ग बहादुर शाही रहेका छन् । कर्णाली प्रदेश लागू औषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटी गएको प्रहरीले उनीहरूलाई उक्त होटलको कोठामा शंकास्पद रुपमा बसिरहेको अवस्थामा फेला पारी जाँच गर्दा दुर्ग बहादुर शाहीको झोलाको खल्तीमा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।             

महोत्तरीको, एकडारा गाउँपालिका भटौलिया नजिक सडकबाट १ सय १० किलो अवैध लागूऔषध गाँजा र नगद ८ हजार १ सय ५० रुपैयाँ सहित मकवानपुर भिमफेदी गाउँपालिका-२ बस्ने ३० वर्षीय अमर कुमार थिङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको  छ । सशस्त्र प्रहरी बल नेपालको चेक प्वाईन्ट एकडारा र सिमा प्रहरी चौकी कटिकटैयाबाट खटिएको संयुक्त प्रहरी टोलीले  ना.३ च ९६२४ नम्बरको गाडी जाँच गर्नेक्रममा गाडीबाट उक्त लागूऔषध बरामद गरी गाडीका साहु थिङलाई पक्राउ गरेको हो ।  

            यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २७ कार्तिक २०७७, बिहिबार