भारत र नेपालले फेरि एकपटक नेपालको संविधान र सार्वभौमिकतालाई अस्वीकार गर्दै नेपाली भूमि लिपुलेक पासबाट दुईपक्षीय व्यापार खोल्ने सहमति गरेका छन् । नेपालको पश्चिमी सिमाना लिम्पियाधुराबाट ५६ किलोमिटरभित्रको भूमिबाट चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा सिमा व्यापार खोल्ने सहमति भारतले गरेको छ ।
यो सहमतिमा नेपालको भूमिका खोइ ? आफ्नो आँगनबाट शक्तिशाली छिमेकीले बाटो खोल्ने सहमति गरेका छन् । सरकार भने देशभित्रका प्रतिपक्ष र आलोचकलाई कसरी तह लगाउन सकिन्छ, आफ्नो विपक्षमा बोल्नेलाई कसरी घुमाई–घुमाई जेलमा कोच्न सकिन्छ र संवैधानिक निकायका फरक दलका प्रतिनिधिलाई कसरी हुर्मत काढ्न सकिन्छ भन्ने कसरतमा मात्र लिप्त छ ।
हालका प्रधानमन्त्रीले विगतका कुनै खण्डमा चुच्चे नक्सा प्रकाशित गरेर आफूलाई भीमकाय राष्ट्रवादी घोषणा गरेको स्मरण गर्दैछु । के त्यो नानी बाबुलाई सुनाउन कथिएको एकादेशको कथा मात्र थियो ? आजसम्म न त्यो चुच्चे नक्सा नै आफ्नै देशभित्रको पाठ्यक्रममा भेटिन्छ न अन्तर्राष्ट्रिय जगतमा । न त्यहाँका नागरिकले नेपाली भएको अनुभूति गर्न सकेका छन् । त्यो थियो त फगत केपी शर्मा ओलीको रुमानी राष्ट्रवादको रोधीघरे दोहोरी, जहाँ केहिबेर दर्शकले मनोरञ्जन लिए र घर पुगेपछि बिर्सिए ।
सम्माननीय प्रधानमन्त्रीले भारत र चीन भ्रमण गर्दै हुनुहुन्छ । सरकार बनेदेखि हालसम्म भारतीय पक्षबाट भ्रमणको निम्तो नपाएर झन्डै डिप्रेसनको सिकार भएको यो सरकारले शीर उचो पारेर, छाती चौडा गरेर, विगतमा पलाएको राष्ट्रवादी नक्कली छायाँकै स्मृतिलाई साक्षी राखेर के एकफटक भन्न सक्छ-‘पहिले दुई देशबिचको सहमति सच्याऊ, हामीलाई पनि सहभागी गराएर नेपालको भूमिबारे सहमति गरौं, अनि मात्र तिम्रो मुलुकमा खुट्टा टेक्छौं ।’
के प्रधानमन्त्रीजीसँग यो साहस बाँकी छ ? देश र विदेशमा रहेका आम नेपालीको प्रश्न हो यो । महाकाली बेचेर पजेरो चढेका र राजधानीमा आलिशान महल ठड्याएका दुई ठुला दल नै आज सत्तामा छन् । जसरी चुच्चे नक्सा इतिहासिको कुनै डस्बिनमा हालिएको छ, त्यसरी नै यो पटक पनि प्रधानमन्त्री सुनेर पनि नसुने झै गर्नुहुन्न भन्ने आधार के छ ?
यो सरकार देशको रक्षा गर्न, समृद्धि ल्याउन अनि आफ्ना नागरिकको दुःखलाई सुखमा बदल्न निर्माण भएको हो र ? अहँ ! त्यो पत्याउन कदापि सकिँदैन । यदि त्यसो हुन्थ्यो भने प्रचण्डको योजनाअनुसार उज्यालो नेपाल बनाउने कुलमानको चीरहरणपछि पुनः लोडसेडिङको चक्रमा फस्दैनथ्यो ।
नाफामा रहेको विद्युत् प्राधिकरण चार महिनामै ५ अर्ब नाफा कम हुने अवस्थामा पुग्दैनथ्यो । उद्योगीको २२ अर्बभन्दा बढि बक्यौता मिलेमतोमा छुट दिएर ऋण थप्ने योजनामा प्राधिकरण जाँदैनथ्यो । जुन ऋण तपाईं, म मात्र नभएर देशभित्र र बाहिर रहेका रोजगार बेरोजगार सबैलाई दामासाही भाग लाग्छ ।




















प्रतिक्रिया