काठमाडौं । ‘कुलिङ पिरियड’ चलखेलमा रामहरि खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएपछि प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समिति सभापतिविहीन बनेको छ ।
कांग्रेसको कोटामा सभापति बनेका खतिवडाको राजीनामापछि कांग्रेसले नै अर्को उमेदवार दिनुपर्ने छ । तर, कांग्रेस संस्थापन र संस्थापनइतरबीच सहमति नजुट्दा प्रतिनिधिसभा सचिवालय कार्यतालिका प्रकाशनमै रोकिएको छ ।
आइतबार सभामुखले कार्यतालिकाका लागि पटक–पटक ताकेदा गर्दा पनि उमेदवार दिन नसकिने अवस्था रहेकाले केही समय पर्खन प्रमुख सचेतक श्याम घिमिरेले आग्रह गरेका थिए । उनकै आग्रहमा आइतबारको निर्वाचन कार्यतालिका प्रकाशन सोमबारका लागि सरेको सभामुखनिकट स्रोतले जानकारी दिएको छ ।
उता, पार्टी सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला गत शुक्रबार एक्लाएक्लै बैठक बसेका थिए । आइतबार बिहान कोइरालाले आफू निकट सांसदहरूसँग छलफल गरी राज्यव्यवस्था तथा सुशासन समितिको सभापति आफ्नो पक्षबाट बनाउने भन्दै आकांक्षीहरूसँग पनि छलफल गरेको बताइएको छ ।
समितिमा सदस्य रहेका पूर्वमन्त्रीहरू दिलेन्द्रप्रसाद बडू र हृदयराम थानी सभापतिका आकांक्षीका रूपमा देखिएका छन् । त्यसमध्ये थानी समितिको सभापति बन्ने स्रोतले जानकारी दिएको छ । “अघिल्लोपटक मन्त्री बन्ने लगभग पक्का भएपछि उपसभापति पूर्णबहादुर खड्काले चलखेल गरेर उहाँलाई रोक्नुभयो,” स्रोतले भन्यो, “फेरि पनि मन्त्री कुर्दा त्यस्तै चलखेलको सम्भावना रहने नै छ । त्यसैले अहिले नै उहाँ समितिको सभापति बनेर काम गर्नुहुनेछ ।”
शेखर पक्षले आफ्नो भागमा सभापति पाउने लगभग पक्का भएको भन्दै छलफल थाले पनि संस्थापन पक्षले भने अझै सहमति नभइसकेको बताएको छ ।
सभापति देउवा पक्षले भने समितिमा महिला सभापति बनाउने मुद्दा अघि सारेको छ । सभापति देउवाले सोमबार बिहान १० बजे पदाधिकारी र पूर्वपदाधिकारी बैठक डोकेका छन् ।




















प्रतिक्रिया