बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नम्बर–३ को उपचुनावमा उम्मेदवारका आकाङ्क्षी मधु अर्यालले आफू भूगोलले मागेको उम्मेदवार भएको बताएका छन् ।
आइतबार बुटवलमा पत्रकारसँग कुराकानी गर्दे पार्टीको क्षेत्रीय सभापति समेत रहेका अर्यालले पार्टी स्थापनाकालदेखि निरन्तर रुपन्देही– ३ मा सङ्गठन निर्माणमा खटेको, समस्या र सम्भावना पहिचान गरेकाले आफूले टिकट पाए यस क्षेत्रलाई समृद्ध बनाउने ‘भिजन’ का साथ अघि बढ्ने बताए ।
उनले आफूलाई पार्टीले न्याय गरेर टिकट दिने विश्वास समेत व्यक्त गरेका छन् ।
उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गरी भैरहवामा पर्यटन क्षेत्रमा गरिएको लगानीलाई सुरक्षित गर्न, विमानस्थल जोड्ने सडक कनेक्टिभिटी र लुम्बिनीको पर्यटन विकाससहित रुपन्देहीको एकीकृत विकास गर्ने मुख्य एजेन्डा रहेको बताए ।
यस्तै कृषिलाई व्यवसायीकरण, माछा सुपर जोन, प्राङगारिक खेतीलाई जोड दिने आफ्नो एजेन्डा रहेको उनले बताए ।
उनले मतदाताको घरदैलोमा पुग्दा अधिकांशले रास्वपाबाट परिवर्तनको आशा गरेकाले चुनावी माहौल रास्वपामय रहेको समेत दाबी गरे ।
उनले वैकल्पिक शक्ति मूलधारको पार्टीहरूसँगै प्रतिस्पर्धा गरेर स्थापित हुने बताए । अर्याल अभियन्ता, लेखक, र अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता समेत हुन् ।




















प्रतिक्रिया