Logo

अन्तर्राष्ट्रिय

यमनको राजधानी सनामाथि इजरायलको भीषण हवाई आक्रमण



काठमाडौं । आइतबार इजरायलले यमनको राजधानी सनामाथि भीषण हवाई आक्रमण गरेको छ । आक्रमणमा कम्तिमा चारजनाको मृत्यु भएको छ । ६७ जना घाइते भएका छन् ।

स्थानीय मिडिया रिपोर्ट अनुसार यो आक्रमण इरान समर्थित हूथी विद्रोहीहरूलाई निशाना बनाएर गरिएको हो । हूथी विद्रोहीहरूले इजरायलतर्फ क्लस्टर बम प्रहार गरेको केही दिनपछि यो आक्रमण भएको हो ।

आक्रमणमा इजरायलका १० भन्दा बढी फाइटर जहाज प्रयोग भएको इजरायली सेनाले जनाएको छ ।
यो सिलसिला बढेमा इजरायल, इरान र यमनबीचको तनावले समग्र मध्य–पूर्वको राजनीतिमा तनाव सिर्जना गर्ने विज्ञहरूले बताएका छन् ।

इजरायली वायुसेनाका एक अधिकारीले बताएअनुसार, शुक्रबार राति यमनबाट इजरायलतर्फ प्रहार गरिएको मिसाइल क्लस्टर म्युनिसन (क्लस्टर बम) थियो । यो बम सामान्य रकेटजस्तो नभई हावामा फुटेर धेरै साना विस्फोटमा परिणत हुन्छ, जसले गर्दा यसलाई रोक्न निकै कठिन हुन्छ ।

हूथी विद्रोहीहरूले पहिलोपटक क्लस्टर बम प्रयोग गरेका हुन् । ती अधिकारीले यो प्रविधिमा इरानको प्रत्यक्ष सहयोग रहेको संकेत गरे ।

हूथी विद्रोहीहरूले लामो समयदेखि इजरायलतर्फ ड्रोन र मिसाइल प्रहार गर्दै आएका छन् । उनीहरूले लाल सागरमा जहाजहरूमाथि पनि आक्रमण गरेका छन् ।

उनीहरूले यो सबै प्यालेस्टाइनीहरूको समर्थनमा, विशेष गरी गाजा क्षेत्रमा युद्ध सुरु भएदेखि गरिरहेको इजरायलको दाबी छ ।

इजरायलको वायु रक्षा प्रणालीले अधिकांश मिसाइल र ड्रोनलाई बीचमै नष्ट गर्छ । तर, क्लस्टर बमले नयाँ चुनौती खडा गरेको छ ।

हूथी विद्रोहीहरूको नियन्त्रणमा रहेको अल–मसीरा टिभी च्यानलले जनाएअनुसार, आइतबारको हवाई आक्रमण १७ अगस्टपछि पहिलो ठूलो हमला थियो ।

त्यसअघि, इजरायलले विद्रोहीहरूले प्रयोग गर्ने ऊर्जा पूर्वाधारसँग जोडिएका ठाउँहरूलाई निशाना बनाएको थियो ।

गाजा युद्धको प्रभाव इजरायल–प्यालेस्टाइनसम्म सीमित नभएर यमन र अरबका धेरै क्षेत्रमा फैलिएको पुष्टि भएको बताइएको छ । एमएसएन

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार ०९:०७   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।