काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै पठाउने जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेलाई थुनामै राखेर अनुसन्धान अघि बढाउन आदेश जारी गरेको थियो ।
उक्त आदेशविरुद्ध सोमबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रिट निवेदन दर्ता भएको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि कारागारमा छन् ।
सर्वोच्चले आदेश गरिसकेको विषयमा उनले जिल्ला अदालत रुपन्देहीमा बिगो बमोजिम धरौटी राखेर थुनामुक्त हुन माग गर्दै निवेदन दिएका थिए । अदालतले उनको भागको बिगो कायम नै नगरेको अवस्थामा रविले आफैँ दुई करोड ७४ लाख ८४ हजारको बिगो धरौटी राख्ने भन्दै बैंक ग्यारेन्टीसहित निवेदन दिएका थिए ।
जिल्ला अदालतले सर्वोच्चबाट आदेश भइसकेको विषयमा जिल्लाले उक्त आदेश उल्टाउन नसक्ने, प्रतिवादीको बिगो छुट्टयाइएको अवस्था नरहेकाले यति नै भनेर कायम हुन नसक्ने, कानुनअनुसार अभियोग नै खण्डित हुनेगरी नयाँ तथ्यप्रमाण पेश पनि नभएको अवस्था भन्दै निवेदक माग बमोजिम आदेश जारी हुन नसक्ने आदेश गरेको थियो ।
रुपन्देही जिल्ला अदालतले उनको निवेदनमा आगामी बुधबारको पेसी तोकेको बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले बताए ।




















प्रतिक्रिया